नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८१ लाख नाघ्याे
काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८१ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ८१ लाख ५३ हजार सात सय ३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार सात सय ८९ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै एक लाख ७७ हजार आठ सय जनाभन्दा धेरैले काेराेनाविरुद्धकाे खोप लगाएका मन्त्रालयले जनाएको छ ।
यसैबीच २४ घण्टामा थप तीन सय आठ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा तीन सय आठ जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै थप दुई सय ९८ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख एक हजार चार सय दुई पुगेको छ ।
यही अवधिमा दुई जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय १६ पुगेको छ ।
नेपालमा अहिले सात हजार तीन सय ४९ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।