नदीजन्य पदार्थको उत्खनन्बाट गाउँपालिकाले उठाउँदै थप सवा करोड राजश्व

जनपत्र
८ मंसिर २०७८, बुधबार १९:०८

हेटौंडा/मकवानपुरगढी गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन्बाट थप सवा करोड राजश्व उठाउँदै छ । नदीजन्य पदार्थ उत्खनन् गर्दा थप २८ हजार घनमिटर नदीजन्य पदार्थ संकलन भएको पाइएपछि गाउँपालिकाले थप राजश्व पनि उठाउँदै गरेको  हो ।

स्वीकृत १ लाख ३५ हजार घन मिटरमा १ लाख ६३ हजार ८ सय ७४ घन मिटर नदिजन्य पदार्थ उत्खनन भएको थियो । सामरी खोलामा ज्यालादारीका कामदार र स्वयमसेकको बदमासीका कारण नदीजन्य पदार्थ उत्खनन् बढी भएको पुष्टि भएको छ । सोही बढी उठेको नदीजन्य पदार्थ बिक्री गर्दा पालिकालाई राजश्व पनि बढी उठाउँदै गरेको गाउँपालिकाका प्रवक्ता भागवत घिमिरेले जानकारी दिए ।

बढी उत्खनन् गरिएको नदीजन्य पदार्थको परिमाण २८ हजार ८ सय ६१ को हाल बिक्रि मुल्य उत्खनन् सहित १ करोड २२ लाख १८ हजार ५ सय ९२ रुपैयाँ गाउपालिकालाई थप राजस्व रकम प्राप्त हुन आएको प्रवक्ता घिमिरेले जानकारी दिए । गाउँपालिका कार्यालयले बुधवार पत्रकार सम्मेलन गर्दै ज्यालादारी कर्मचारीको बदमासीले नदीजन्य पदार्थ बढी संकलन भएको जानकारी गराएको हो । सामरी खोलाबाट वर्षातको समयमा खोलाको सतह बढेर वस्तिमा खोला पस्ने जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन् गरेको थियो ।

वस्ती जोगाउनका निम्ति उत्खनन् गरिएको नदीजन्य पदार्थ खोला क्षेत्रमै घाट गद्दी गरेर राखिएको थियो । उक्त घाट गद्दी गर्दा ज्यालादारी कर्मचारीले बढी उत्खनन् गरेको र यसलाई सबै राजनीतिक दल, पत्रकारहरुले चासो देखाएपछि गाउँपालिकाले कदम अगाडि बढाएको थियो । गाउँपालिकाका अनुसार नदीजन्य पदार्थ उत्खनन्मा खटिएका ज्यालादारीका कामदार र स्वयंमसेवकले प्रतिटिपको आधारमा गाउँपालिकालाई हिसाब बुझाएको पाइएको छ । हिसाबमा उनीहरुले १ लाख ३५ हजार घनमिटर नदीजन्य पदार्थ रहेको भन्ने प्रतिवेदन दिएको प्रवक्ता घिमिरेले बताए ।

उक्त प्रतिवेदनकै आधारमा नदीजन्य पदार्थ बिक्री गर्दा नेपाली कांग्रेसले नदिजन्य पदार्थ उत्खनन परिमाणमा चित्त नबुझेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको घिमिरेले बताए । उत्खनन् गरेर राखिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति र गाउँपालिकाको प्राविधिक टोलीले नापजाँच गर्दा स्वीकृत भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरिएको पत्ता लागेको थियो ।

गाउँपालिकाका प्रवक्ता भागवत घिमिरेले ६ नम्बर वडामै मात्रै घाट गद्दी गरिएको नदीजन्य पदार्थमा बढी उत्खनन् भएको पाइएको जानकारी दिए । उनका अनुसार ६ नम्बर वडा क्षेत्रमा पर्ने खोलामा उत्खनन्का लागि खटिएको ज्यालादारीका कर्मचारीले बढी नदीजन्य पदार्थ उत्खनन् गरिएको पाइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले भने ‘सामरी खोलामा धेरै स्थानमा नदीजन्य पदार्थ थुपारेर राखिएपनि ६ नम्बर वडाको एउटा थुप्रोमा मात्रै बढी देखिएको हो । ज्यालादारीमा काम गर्ने कामदारका कारण बढी उत्खनन् भएको र कामदारलाई सचेत गराउने काम पालिकाबाट भएको छ ।,’ घिमिरेले भने । प्रवक्ता घिमिरेले स्वयमसेवक कामदारका कारण झण्डै गुमेको राजश्व उठाउन भूमिका खेलेकोमा पालिकाभित्रका सबै राजनीतिक दललाई धन्यवाद दिएका छन् । २ नम्बर वडाका वडाअध्यक्ष बखान सिं पाख्रिनले आगामी दिनमा गाउँपालिकाले गम्भिर भएर नदीजन्य पदार्थ उत्खनन् गर्नेतर्फ सचेत गराइएको बताएका छन् ।

नदीजन्य पदार्थ उत्खनन्मा ज्यादालारी कामदार र स्वयमसेवकले बढी उत्खनन् गरेको आवाज उठेपछि गाउँपालिकाले तत्काल कदम चालेको पाइएको छ । गाउँपालिकाले सर्वदलीय बैठक बोलाएर सवै दलको निगरानीमा डम्पिङ गरी राखेको बाँध झोलुङगे पुल मुनिको थुप्रोवाट नदिजन्य पदार्थ बिक्रि वितरण गर्ने कार्य गरिएको जनाइएको छ । गाउँपालिकावाट जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको थुप्रोका परिमाण थप घटबढ हुनुका कारण तथा नदीजन्य पदार्थमा देखिएको विवाद वारे यथार्थ विवरण गाउँकार्यापलिका पेश गर्नको लागि गाउँकार्यापालिकाको बैठकले गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*