केपी ओलीले सूर्य चिह्नकाे धाक लगाएर हिँडिरहनु पर्दैन : माधव नेपाल

जनपत्र
८ मंसिर २०७८, बुधबार १४:२९

धनुषा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सूर्य चिह्नकाे धाक नलगाउन चेतावनी दिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एमालेको सूर्य चिह्नमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताउनुभएको हो । आज बुधवार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिह्न कलम चम्किरहेको र यही मङ्सिर १५ गतदेखि त्याे चिह्नकाे स्किटर लिएर आर्थिक सङ्कलन गर्दै नागरिककाे घरघरमा पुग्ने अभियान सञ्चालन गर्ने घोषणासमेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘समाजवादको दिशामा अघि बढ्नका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ । मैले भन्ने गरेको छु– अब सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागिसकेको छ । अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ ।’

अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुर नै राख्न उपयुक्त हुने धारणासमेत राख्नुभयो । उहाँले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भनी स्थानीय सञ्चारकर्मीहरूले सोधेको प्रश्नबारे त्यस सम्बन्धमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*