अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका मकवानपुरका २ हजार ७ सय १५ जना अभियुक्त फरार
मकवानपुर — अदालतबाट दोषी ठहर भई कैद सजाय र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ७ सय १५ जना अभियुक्त फरार छन् । फरार सूचीमा रहेकामध्ये ६२ जना विदेशी ९भारतीय० नागरिक र २ हजार ६ सय ५३ जना स्वदेशी रहेका मकवानपुर जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार फरार अभियुक्तमध्ये बढीजसो लागूऔषध मुद्दाका छन् । दोषी ठहर गरे पनि फरार व्यक्तिको सूची अदालतले जिल्ला प्रहरी, प्रशासन र पालिकामा पठाएको छ ।
अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई सरकारी निकायबाट पाउने सेवासुविधा रोका गर्न अदालतले परिपत्र गरेको हो । गत वर्ष राक्सिराङ गाउँपालिकाले लागूऔषधसम्बन्धी मुद्दामा फरार रहेका ४ जनाको सेवासुविधा रोकेको थियो । जिल्ला प्रहरीले गत आव ०७७र७८ मा अदालतले दोषी ठहर गरेका तर फरार १ सय ५६ जनालाई पक्राउ गरेको थियो । ‘कसुर प्रमाणित भइसकेका फरार व्यक्तिहरूलाई पक्राउ गर्न सबै क्षेत्रमा प्रहरीहरू सक्रिय छन्,’ मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले भने ।
अदालतका फैसलाहरू कार्यान्वयनमा ल्याउन र अदालतको बाँकी बक्यौता र कैद लगत घटाउन दोषी ठहर भएका तर फरार व्यक्तिलाई अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ । अदालतको फैसला कार्यान्वयन भएन भने अदालतप्रतिको आस्थामा पनि क्रमशः ह्रास आउने कानुन व्यवसायीहरू बताउँछन् । ‘बर्सेनि बाँकी बक्यौता र कैद लगतमा वृद्धि हुनु र अदालतको फैसलाअनुसार कैद बस्नुपर्ने वा दण्ड जरिवाना तिर्नुपर्ने व्यक्ति फरार रहिरहनुले अदालतको फैसला कार्यान्वयनप्रति मात्र होइन फैसलाको औचित्यमाथि नै प्रश्न उठ्ने गर्छ,’ अधिवक्ता मदन दाहालले भने ।
आदेशअनुसारको दण्ड जरिवाना संकलन नहुँदा जिल्ला अदालतको बक्यौता २९ करोड ७४ लाख ५१ हजार ७ सय ३४ रुपैयाँ पुगेको छ । त्यस्तै, कैद लगत ३ हजार ६ सय १० वर्ष ४ महिना २१ दिन पुगेको छ । चालु आवका ४ महिनामा यो आँकडा १ सय ११ वर्ष थपिएको छ । ‘कैद सजाय तोकिएका र दण्ड जरिवाना तिर्न फैसला भएका अपराधीहरू लुकीछिपी हिँडिरहेका छन्,’ अर्का अधिवक्ता ईश्वर ढकालले भने, ‘अदालतको गरिमा फैसलामा भन्दा कार्यान्वयनमा रहन्छ । वादी प्रतिवादीले अदालतको फैसलाको अनुभूति गर्न पाउनुपर्छ अनि मात्र यस्तो फैसलाको महत्त्व रहन्छ ।’ इकान्तिपुरबाट ।