अमेरिका टुलुटुलु हेरेर बस्दा एआई र साइबर सुरक्षामा चीनले उछिन्यो

जनपत्र
८ मंसिर २०७८, बुधबार ०६:१४

सेप्टेम्बरमा पेन्टागनबाट राजीनामा दिएकै बेला मैले चेतावनी दिएको थिएँ– तुरुन्तै कदम नचाले एक वर्षभित्रै हामी आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को युद्धमा चीनसँग हार्नेछौँ। हामी ढुक्क भएर बसिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीले कयौँ प्रकारका युद्धक्षमतामा हामीलाई भेट्टायो। त्यसभन्दा पनि खराब, एआई र साइबर सुरक्षाजस्ता सबैभन्दा महत्वपूर्ण र निर्णायक क्षेत्रमा उसले उछिन्दा पनि हामी टुलुटुलु हेरे बसिरह्यौँ। पेन्टागनका नेताहरु चीनलाई ‘झण्डै झण्डै बराबरीको शत्रु’ भन्न रुचाउँछन्। तर, उनीहरुको भनाइबाट थाहा हुन्छ, तिनले बेइजिङको क्षमतालाई निकै कम आँकेका छन्।

तर, त्यस्तो गल्ती म गर्दिनँ, तपाईं पनि नगर्नुस्। जसले एआईको प्रतिस्पर्धा जित्छ, यो पृथ्वी उसैले नियन्त्रण गर्छ। अमेरिकाले एआईद्वारा सञ्चालित जेटविरुद्ध सर्वोत्कृष्ट पाइलटहरुलाई भिडाएर भर्चुअल अभ्यास आयोजना गरेको थियो। त्यो अभ्यासमा एआई प्रणालीले नै जित हात पारेको थियो। चीनले हालै परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्रहरुलाई एआई–सञ्चालित प्रतिरक्षा प्रणालीले मात्र रोक्न सक्छ।

यसबाट जुन खतरा देखिएको छ, त्यसको समाधान स्पष्ट छ। पेन्टागन चुस्त र छरितो बन्नै पर्छ। उसले बुझ्न जरुरी छ– नवअन्वेषणमा असफलता पनि गाँसिएको हुन्छ। पेन्टागनले एउटा संयुक्त आईटी कार्यालय खोल्न जरुरी छ। जसले आईटी खरिद–प्राप्ति, क्लाउड सर्भिस, तथ्यांक भण्डारण, एआई, साइबर सुरक्षा र तालिमजस्ता सबै क्रियाकलापलाई केन्द्रीकृत गर्छ। यस्तो ‘टेक्नोलोजी एन्ड इन्फर्मेसन मर्ज्ड एन्टरप्राइज’ ले सिधै उपरक्षामन्त्रीलाई रिपोर्ट गर्ने व्यवस्था हुनुपर्छ।

रक्षा मन्त्रालयले सार्वजनिक–निजी साझेदारीलाई पनि प्रोत्साहन दिनुपर्छ। मन्त्रालय करदाताप्रति थप जवाफदेही हुनुपर्छ र आफ्नो बजेटको कम्तीमा १० प्रतिशत युद्धकलाको स्वचालित विधि विकासमा लगाउनुपर्छ।

तर, यसअघि पनि मैले भनेझैँ मन्त्रालयको नेतृत्व लिएकाहरु प्रायः प्रविधिलाई राम्ररी बुझ्दैनन्। र, जसले बुझ्छन्, तिनलाई अघि बढाउन इन्कार गर्छन्। तपाईं नेता हुनुहुन्छ र त्यो विषय तपाईंलाई थाहा छैन भने त्यसबारे तपाईंले आफूलाई शिक्षित बनाउनुपर्छ र जान्नेबुझ्नेको सल्लाह लिन आफूलाई तयार पार्नुपर्छ। होइन भने त्यो ठाउँ छाड्नुपर्छ। प्रत्येक कर्मचारीलाई हरेक दिन एक घण्टा सिक्ने समय हामीले उपलब्ध गराउनुपर्छ।

त्यस्तै एआई र तथ्यांकसम्बन्धी बेग्लाबेग्लै टोली गठन गर्नु अर्को गल्ती हो। अझ खराब त अलग्गै ‘साइबर फोर्स’ गठन गर्नु हो। कुनै समस्या पर्दा विज्ञहरुको टोली हतारहतार आउनुपर्ने स्थिति ठिक होइन। बरु, सफ्टवेयर, साइबर र एआई रक्षा मन्त्रालयको हरेक टोलीभित्रै समावेश हुनुपर्छ।

सम्पूर्ण मन्त्रालयमा नयाँ प्रविधि उपलब्ध गराउनकै लागि तयार गरिएको ‘पेन्टागन्स् डिफेन्स डिजिटल सर्भिस’ जस्ता अवधारणा असफल हुनुको आंशिक कारण के हो भने ती शून्यमा सिर्जना गरिएका थिए। त्यस्तै, सफ्टवेयर, साइबर सुरक्षा, तथ्यांक विज्ञान, एआई र मेसिन लर्निङका क्षेत्रमा लाग्नेहरुका लागि वृत्तिविकासको व्यवस्था गर्नैपर्छ। अन्य क्षेत्रमा जस्तै तिनको तलब र पद बढ्दै जाने हुनुपर्छ।

कर्मचारीहरुलाई अद्यावधिक गर्न पेन्टागनले प्रविधि उद्योगसँग सहकार्य गर्नुपर्छ। अमेरिकामा अतुलनीय कम्पनीहरु छन्, जसले हरेक क्षेत्रमा नवप्रवर्तन गरिरहेका छन्। स्वचालित कारदेखि, अन्तरिक्ष यात्रा र क्वान्टम कम्प्युटिङसम्ममा उनीहरु अगाडि छन्। दुर्भाग्यवश, अमेरिकी रक्षा मन्त्रालय सूचनालाई अनावश्यक रुपमा गोप्य राखेर बस्ने गर्छ। जसले गर्दा चीनको आक्रमकताबारे प्रविधि–उद्योगका साझेदारहरुले थाहै पाउँदैनन्। हाम्रा कम्पनीहरुमा जासुस घुसाउनेदेखि लिएर बौद्धिक सम्पत्तिको चोरी र साइबर आक्रमणसम्मका चिनियाँ गतिविधिको सूचना बेलैमा अरुले पाउँदैनन्। फलस्वरुप थुप्रै अमेरिकी कम्पनीहरु अझै पनि पेन्टागनसँग मिलेर काम गर्न मान्दैनन्। मलाई के विश्वास छ भने यस्ता खतराका प्रकृतिबारे जति सूचना पेन्टागनले दिन्छ, त्यति नै बढी ती कम्पनीहरु अमेरिकी सेनासँग साझेदारी गरेर यो लडाइँ जित्न इच्छुक हुनेछन्।

रक्षा मन्त्रालयभन्दा बाहिरबाट विज्ञहरुलाई ल्याउनुको अर्थ हो– आवतजावतको प्रक्रियालाई नियमित गर्नु। त्यसो हुँदा मानिसहरु सीप र अनुभव हासिल गर्न सरकारभित्र आउने र बाहिरिने प्रक्रिया चलिरहन्छ। हामीले रक्षा मन्त्रालयका कर्मचारीहरुलाई टेस्ला र स्पेस एक्सजस्ता स्टार्ट–अप र नवप्रवर्तनमूलक कम्पनीमा केही समय काम गर्न र त्यसपछि फर्केर सेनामा आफ्नो ज्ञान कार्यान्वयन गर्न अनुमति दिनुपर्छ। पर्याप्त प्रतिभाविबना अमेरिकी रक्षा सफल हुन सक्दैन।

अन्त्यमा, हामीले गलत युद्धको तयारीमा समय र स्रोत खर्चिनु हुँदैन। आउँदो युद्ध सफ्टवेयर–प्रधान हुनेछ। त्यो युद्ध १।७ ट्रिलियन डलरका एफ३५ लडाकु विमान वा १२ अर्ब डलरको विमानवाहक युद्धपोतले जितिने छैन। चीनले एउटा गोली पनि नपड्काई हाम्रो उर्जा सञ्जाल बन्द गरिदिन सक्छ। किनभने हाम्रो अत्यन्त महत्वपूर्ण राष्ट्रिय पूर्वाधारमा साइबर सुरक्षाको स्थिति निकै कच्चा छ।

यसले के देखाउँछ भने हाम्रो लगानी गलत क्षमतामा भइरहेको छ। हालसालै टेक्ससबाट अमेरिकाको दक्षिणी राज्यहरुमा इन्धन आपूर्ति गर्ने पाइपलाइन ह्याक भएको हामीले देख्यौँ। जोखिम स्पष्ट छ। त्यसैले हामीले तुरुन्तै झुण्डमा आक्रमण गर्ने ड्रोन, स्वचालित विमान, स्वचालित पानीजहाजजस्ता स्वचालित प्रविधि र हाइपरसोनिक हतियार, साइबर क्षमता तथा अन्तरिक्षमा सैन्य अग्रता हासिल गर्नुपर्छ। त्यसका लागि बरु एफ३५ लडाकु विमानको संख्या कम गर्नुपर्छ।

एआईका क्षेत्रमा अर्थपूर्ण काम गर्न अमेरिकासँग अझै १० वर्ष समय छ भनेर दाबी गरिएका रिपोर्टहरु गलत हुन्। एआई नवअन्वेषणमा तीव्र रुपमा प्रगति हुन्छ भन्ने कुरा विश्लेषकहरुले बिर्सेका छन्। चीनले यो क्षेत्रमा धेरै विज्ञहरुलाई खटाएको छ। उसँग तथ्यांक पनि बढी छ। जसका कारण अमेरिका पछि परिसकेको छ। आउँदो वर्षको यही समयतिर हामी चीनलाई भेट्न नसक्नेगरी ढिला भइसकेका हुनेछौँ।

९फाइनान्सियल टाइम्सबाट। निकोलस सैयानले अमेरिकाको वायु सेना र अन्तरिक्ष सेनाको ‘फर्स्ट चिफ सफ्टवेयर अफिसर’ पदबाट राजीनामा दिएका थिए। हाल उनी प्रिभेन्ट ब्रिच नामक साइबर सेक्युरिटी कम्पनीका चिफ टेक्नोलोजी अफिसर छन्।० नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*