इजरायल जाने नेपाली कामदारसँग चर्को मेडिकल शुल्क असुली

जनपत्र
८ मंसिर २०७८, बुधबार ०६:१०

सरकारी तवरबाटै इजरायल जाने नेपाली कामदारहरूसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको पाइएको छ । अहिले भाषा परीक्षा उत्तीर्ण भई इजरायल जाने सबै प्रक्रिया पूरा गरेका नेपाली कामदारसँग सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रतिकामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् ।

सरकारले इजरायलसँग श्रम समझदारी गरेर पठाउन लागे पनि केयरगिभर कामदार आफैंले मेडिकल शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । अन्य देशसँग रोजगारदाताले नै मेडिकल शुल्क तिर्नुपर्ने गरी श्रम समझदारी गरेको सरकारले आफैंले श्रमिक पठाउँदा भने हवाइ टिकट र मेडिकल शुल्क कामदारलाई नै तिराउँदै छ ।

वैदेशिक रोजगार विभागले गत ५ मंसिरदेखि आगामी ११ मंसिरसम्मका लागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने कार्यतालिका तय गरेको छ । सरकारी अस्पतालमा कामदारले स्वास्थ्य परीक्षण गराउन नपाउनेगरी स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मन्डिखाटार, नेपाल मेडिसिटी हस्पिटल भैंसेपाटी, मनमोहन मेमोरियल मेडिकल कलेज स्वयम्भूमा मात्रै तोकिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकको मडिकल गर्ने संस्थामा ह्याम्स, मेडिसिटी र स्टार हस्पिटल सूचीकृत पनि नरहेको बताएको छ । वैदेशिक रोजगार विभागले भने नेपालस्थित इजरायली दूतावासको सिफारिसमा मेडिकल छनोट गरेर शुल्क तोकिएको बताएको छ ।

अहिले साउदी अरब जाने श्रमिकले अधिकतम् ५ हजार ५ सय रुपैयाँ र कतार, मलेसिया, यूएईलगायतका देश जानेले बढीमा हजार ५ सय रुपैयाँमा मेडिकल गरिरहेका छन् । सरकारी तवरबाटै दक्षिण कोरिया जाने श्रमिकले सरकारी अस्पतालमै परीक्षणको सुविधा पाउने गरेका छन् ।

इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका १ हजार १ सय ७५ जना श्रमिक नामावली सार्वजनिक भएको थियो । इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी ९पीआईबीए०ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८ सय २१ महिला र ३ सय ५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको थियो । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरू इजरायल जान पाउँछन् ।

छनोटमा परेर जाने श्रमिकले साता ४२ घण्टा काम गर्नुपर्नेछ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ । सुरुमा एक वर्षको करार पाँच वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७ सय रुपैयाँ बराबरको खर्च कामदार आफैंले बेहोर्नुपर्नेछ ।

यसैगरी, इजरायल जाँदाको भिसा शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ । तर, बिमा शुल्क, हवाईभाडा, अभिमुखीकरण, मेडिकल तथा कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था छ । इजरायलमा श्रमिक लैजानेगरी २०७७ सालको ८ माघमा समझदारी गरेको थियो । सोही समझदारीअनुरूप अहिले कामदार पठाउन लागिएको हो । राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*