यस कारण अध्यक्ष पदमा मेराे उम्मेदवारी : भीम रावल

जनपत्र
५ मंसिर २०७८, आईतवार १७:३६

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आज आइतवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले चितवनमा यही मङ्सिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले देश, नागरिक र पार्टीको सामु भएका र आउन सक्ने चुनौतीहरूको सामना गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

उपाध्यक्ष रावलले विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध नागरिककाे मातृभूमि नेपाललाई शिर ठाडो गरी समृद्धिको पथमा अग्रसर तुल्याउन पार्टीलाई नेतृत्व दिने निर्णय गरेको बताउनुभयो । उहाँले राजनीतिक जीवनको आरम्भदेखि आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने सङ्कल्प गरेको बताउनुभयो ।

उपाध्यक्ष रावलले भन्नुभयो, ‘यस पार्टीको सिर्जना, विकास, विस्तार र प्रगतिमा मलगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यहरूले बगाएको पसिना सधैँ सार्थक बनिरहोस् भनेर पार्टी केन्द्रीय कमिटीको उपाध्यक्षको हैसियतले गम्भीर भएर सोच्नु र दृढ प्रयत्न गर्नु मेरो पनि कर्तव्य हो । त्यसैले देश, नागरिक र पार्टीका सामु आज भएका र भोलि आउन सक्ने चुनौतीहरूको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरूलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धी विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमका लागि प्रसिद्ध नागरिककाे मातृभूमि नेपाललाई शिर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु । मैले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने सङ्कल्प गरेको छु । यही दृढ सङ्कल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लिलित वा स्पष्ट गर्नुपर्ने निम्न लिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मङ्सिर १० देखि १२ गतेसम्म चितवन हुने नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

उपाध्यक्ष रावलले नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसङ्गठित र समयका चुनौतीहरूको सामना गर्न सक्ने गरी क्रियाशील तुल्याउन महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कोरोना महामारी (कोभिड–१९) ले अर्थतन्त्र र जनजीवनमा पारेको असर, प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या, बढ्दो बेरोजगारी, महँगीजस्ता समस्यासँग जुझ्नका लागि देशका सामु विशेष नीति, कार्यक्रम र निर्णयका साथ राष्ट्रिय शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

उपाध्यक्ष रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमै बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोपसमेत लगाउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*