नेपालको पर्यटन प्रवर्द्धनका लागि रामदेवलाई ब्रान्ड एम्बेसडर बन्न प्रस्ताव

जनपत्र
५ मंसिर २०७८, आईतवार १३:४२

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्रान्ड एम्बेसडर बन्न प्रस्ताव गरेको छ ।

आइतवार मन्त्रालयले आयोजना गरेको पशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि ब्रान्ड एम्बेसडर बन्न प्रस्ताव राख्नुभएको हो । मन्त्री आलेले बाबा रामदेवलाई ब्रान्ड एम्बेसडर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिनुभयो ।

नेपाल बुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन रामदेवको भूमिका महत्त्वपूर्ण हुने मन्त्री आलेले बताउनुभयो । योगगुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । कोभिड–१९ को सङ्क्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेका उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन योगगुरु रामदेवलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताउनुभयो । उहाँले मन्त्रालयको प्रस्तावलाई गम्भीरतापूर्वक छलफल गरेर निर्णय लिने बताउनुभयो । नेपाललाई समृद्ध बनाउन पतञ्जली योगपीठले गर्न सक्ने योगदानलाई कार्ययोजना बनाएर लागू गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालको संस्कृतिलाई विश्वभरि लिएर जान्छु, यहाँको मानिसलाई गौरव हुन्छ कि यहाँको संस्कृति र प्रकृतिले समृद्धि बढिरहेको छ । हामीलाई दिएको प्रस्तावमा हामी गम्भीरतापूर्वक छलफल गरेर निर्णय गर्छौँ । नेपालको एकता, समृद्धिको विकास गर्न पतञ्जली योगपीठले जे योगदान गर्न सक्छ, एउटा रूपरेखा बनाएर, लामो कार्ययोजना बनाएर हामी योगदान दिन्छौँ ।’

योग गुरु रामदेवले नेपाल र भारतका पूर्वजहरू साझा रहेको धारणा पनि व्यक्त गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*