म्याग्दीका सुन्तला बगैँचामा औँसा किराको प्रकोप
म्याग्दी – म्याग्दीमा उत्पादित सुन्तलामा यसवर्ष पनि रोग तथा किराको प्रकोप देखिएको छ । व्यावसायिक सुन्तला खेतीमा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको हो।
सुन्तलाको बोटमा औंँसा किरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । यस वर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा किरा लागेको छ ।
गएकाे वर्ष जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मङ्गला–५, अर्मन र मालिका–७, बिम गाउँमा लगाइएको सुन्तला खेतीमा औँसा किरा लागेको थियो ।
गएको वर्ष औँसा किराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत प्रोटिन बेस (खाद्यपासो) थापेर औँसा नियन्त्रण गरिएको क्षेत्रमा प्रकोप घट्दो क्रममा रहेको र अन्य ठाउँमा बढ्दै गएको छ ।
सुन्तलामा औँसा किरा लागेपछि बिस्तारै बोट सुक्दै जाने, दाना चाउरी पर्ने, समय नपुग्दै पहेँलो हुने तथा नपाक्दै झर्ने जस्ता समस्या देखिएको किसानहरुले बताएका छन् । यसपटक अन्नपूर्णको दोसल्लेमा व्यावसायिक सुन्तला खेतीमा औँसा किराको प्रकोप धेरै देखिएको छ । दोसल्लेका अधिकांश किसानको बगैँचामा लगाइएको सुन्तलामा औँसा किराको प्रकोप देखिएको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल कृषक समूहका अध्यक्ष प्रेमबहादुर पाइजा पुनले जानकारी दिनुभयो ।