प्रदेश युवा परिषदद्वारा हेटौंडामा आयोजित महिला आत्मरक्षा तालिम सकियो
हेटौंडा / बागमती प्रदेश युवा परिषद्को आयोजनामा युवा महिलाहरुलाई २ दिने आत्मरक्षा तालिम शनिबार हेटौंडामा सम्पन्न भएको छ । जिल्ला युवा समितिको कार्यालय मकवानपुरको समन्वयमा जिल्लाका सबै पालिकाका युवा महिलाको सहभागितामा शुक्रबारबाट महिलाहरुलाई २ दिने आत्मरक्षा तालिम शुरु भएको थियो ।
एक कार्यक्रमको बिच उक्त तालिमको समापन भएको छ । तालिममा मकवानपुरका १० ओटै स्थानीय तहका १६- २५ उमेर समुहका २५ जना युवा महिलाहरु सहभागि भएका थिए । कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवा परिषद्ले सबै स्थानीयतहमा युवाहरु तथा किशोरीहरुलाई सक्षम बनाउन विभिन्न तालिम आयोजना गर्ने योजना रहेको बताए ।
उनले युवाहरुलाई हरेक क्षेत्रमा सक्षम बनाउदैँ लैजाने, रोजगारीको श्रीजना गर्ने, युवा स्वंमसेवक बनाइ परिचालन गर्ने तथा स्थानीय तहहरुमा युवा क्लब स्थापना गर्ने बताए । यस्तै जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिवहरि दाहालले युवाहरु बर्तमानको साझेदार रहेको हुनाले युवा परिषद मार्फत युवाहरुको लागी सरकारले विषेष कार्यक्रमहरु ल्याएको बताउनुभयो । अध्यक्ष दाहालले समयको परिवर्तन संगै युवाहरुको भुमिकालाई पनि परिमार्जित गदै अब देशको आबस्यकता समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांशा पूरा गर्न युवाहरु एकजुट भई त्यसको निम्ती लाग्नुपर्ने बताउनुभयो ।
तालिमलाई नेपाल सेल्फ डिफेन्स एसोसिएसनका प्रशिक्षकद्वय भगवती अधिकारी र राधिका ऐर तथा अर्पण पराजुलीले सहजीकरण गर्नुभएको थियो । सहभागी किशोरीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । प्रदेश युवा परिषदका कार्यालय प्रमुख रमेश घिमिरे, कैलाश गाउँपालिकाका कार्यबाहक अध्यक्ष सुकुमाया थिङ्ग, सामाजिक अभियान्ता मेनुका श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो ।