डी भिलियर्सले अब क्रिकेट नखेल्ने
दक्षिण अफ्रिकाका पूर्वकप्तान एवी डी भिलियर्सले सबै खाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०१८ मा अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सले फ्रेन्चाइज लिगहरू खेल्दै आए पनि शुक्रबार सबै क्रिकेटका शैलीबाट सन्न्यास लिएको जनाएका छन् ।
योसँगै उनी अब खेलाडीका रूपमा मैदान देखिने छैनन् । उनले दक्षिण अफ्रिकाबाट १ सय १४ टेस्ट, २ सय २८ ओडीआई र ७८ टी–२० आई खेल खेलेका छन् । डी भिलियर्स विश्व क्रिकेटका सर्वाधिक आक्रामक ब्याटरको रुपमा चिनिन्छन् । विस्फोटक ब्याटिङ प्रमुख विशेषता भिलियर्सलाई मिस्टर ३ सय ६० डिग्री भन्ने गरिन्छ । डी भिलियर्सको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक ३१ बलको कीर्तिमान छ ।
सन् २०१५ मा डी भिलियर्सले वेस्ट इन्डिजविरुद्ध ३१ बलमै शतक प्रहार गरेका थिए । इन्डियन प्रिमियर लिग ९आईपीएल०मा उनले रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दै आएका थिए । यस सिजनदेखि विराट कोहलीले कप्तानी छाडेपछि डी भिलियर्सलाई कप्तानको दाबेदारका रूपमा समेत हेरिएको थियो । उनले १ सय ९१ टेस्ट इनिङमा २२ शतक र ४६ अर्धशतकसहित ८ हजार ७ सय ६५ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ७८ रन अविजित छ ।
२ सय १८ ओडीआई इनिङमा उनले २५ शतक र ५३ अर्धशतकसहित ९ हजार ५ सय ७७ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ७६ रन छ । ३ सय ४० टी–२० खेलमा डी भिलियर्सले ४ शतक र ६९ अर्धशतकसहित ९ हजार ४ सय २४ रन बनाएका छन् ।