अमेरिकी र्यापर योङ डल्फको गोली हानी हत्या
अमेरिकी र्यापर योङ डल्फको गोली हानी हत्या भएको छ। बुधबार दिउँसो दक्षिणी मेम्फिसस्थित मकेडा होममेड कुकिजमा भएको बन्दुक आक्रमणमा उनको मृत्यु भएको हो।
कुकिज किन्न बाहिर आएका बेला सवारी साधनमा आएका एक व्यक्तिले नजिकैबाट डल्फमाथि गोली चलाइएको फक्स न्युजले जनाएको छ। लगत्तै उनको मृत्यु भएको समाचारमा उल्लेख छ।
शिकागोमा जन्मिएका डल्फ सानै उमेरमा मेम्फिस आएका थिए। यसअघि सन् २०१७ मा समेत उनीमाथि गोली प्रहार हुँदा गम्भीर घाइते भएका थिए। उनले सन् २०१६ मा आफ्नो पहिलो एल्बम ‘किङ अफ मेस्फिस’ सार्वजनिक गरेका थिए। उनको पछिल्लो एल्बम ‘डम एण्ड डमर’ बिलबोर्ड चार्टमा ८ स्थानसम्म पुगेको थियो। उनको ‘रिच स्लेभ’ निकै चर्चित छ।