बर्दियाको ठाकुरद्वारामा गौमूत्र अनुसन्धान केन्द्र बनाइँदै

जनपत्र
२ मंसिर २०७८, बिहीबार १६:२३

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा गौ संरक्षण अभियान अन्तर्गत पञ्चगव्य (गौमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।

विश्व हिन्दू युवा सङ्घका धार्मिक सद्भावना दूत योगी पिताम्बरको नेतृत्वमा मङ्सिर ४ गते बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा रहेको ठाकुरद्वारा मन्दिर परिसरमा पञ्चगव्य अनुसन्धान केन्द्रको शिलान्यास गर्न लागिएको विश्व हिन्दू युवा सङ्घका अध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिनुभयो ।

ठाकुरद्वारा मन्दिर परिसरमा मङ्सिर ४ गते शनिवारका दिन रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको विश्व हिन्दू युवा सङ्घका अध्यक्ष शाहले बताउनुभयो ।

नेपालका गव्यसिद्ध डाक्टर नरेन्द्र हमाल, प्रेम आर्य र बाबा योगीराजको सैद्धान्तिक नेतृत्वमा पञ्चगव्य अनुसन्धान केन्द्र स्थापना गर्ने र केन्द्रले गौ संरक्षणमा ठूलो योगदान पुर्याउँदै स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुर्याउने लक्ष्य लिएको छ ।

ठाकुरद्वारामा आयोजित धार्मिक सभामा आउने पाहुनाहरूलाई आफ्नो घरमा खाना तथा बस्न सहयोग गरिदिन स्थानीयवासीलाई आयोजकले अनुरोध गरेको छ । गौ संरक्षण अभियानसँगै दलित समुदायप्रतिको विभेद अन्त्य गर्न ठाकुरद्वारा मन्दिरमा धार्मिक अनुष्ठान गरिने जनाइएको छ ।

पञ्चगव्य (गौमूत्र) अध्ययन तथा अनुसन्धान केन्द्र स्थापनाको तयारीका लागि मन्दिर व्यवस्थापन समिति, नेपाली सेना, स्थानीयवासीले मन्दिर परिसरमा सरसफाइसमेत गरेका ठाकुरद्वारा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर खड्काले बताउनुभयो ।

ठाकुरद्वारा मन्दिर परिसरमा दुई वर्षअघि गौशाला निर्माण गरी झन्डै एक सय वटा गाई पालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*