त्रिशूली किनारमा बालुवा चालेर सुन निकाल्दै बोटे

जनपत्र
२ मंसिर २०७८, बिहीबार ०८:२१

दसैं सकिएलगत्तै तनहुँ र कास्की जिल्लाका ६ परिवारका १० जना बोटे समुदायका मानिसहरू यतिबेला त्रिशूली किनारमा बालुवा चालेर सुन निकाल्दै छन् । उनीहरू भुइँमा उज्यालो खसेदेखि बगरमा पाँगो र साना साना ढुंगा जमेको बगर सुन पाउने आसमा साँझसम्म खोतल्छन् ।
उनीहरूको बसाइ पनि नदी किनारमै छ । दिनभरि पानी खेलाउनुपर्ने र साँझ पनि बगरमै बस्नुपर्ने रहर नभई बाध्यता भएको उनीहरू बताउँछन् ।
त्रिशूली नदीको चिसोको कुनै परवाह नगरी नदी किनारमा गएर कष्टसँग जीवन बिताउनु बोटे समुदायको रहर भने होइन । घर खर्च चलाउन, बालबच्चाको लालनपालन र दुई–चार पैसा कमाउन उनीहरू नदी किनारमा बालुवा चालेर सुन निकाल्दै आएका हुन् ।
बोटे तथा माझी समुदायका मानिसहरू हरेक वर्ष भदौदेखि जेठसम्म नदी किनारमा बालुवा चालेर सुन खोज्न व्यस्त हुने गरेको मानबहादुर बोटेले बताए ।
“सुन पाइने नदी र बगरको राम्रो जानकारी छ । त्यसकारण समय मिलाएर सबै नदी कनार पुग्छौं । राम्रो सुन पाइने नदीहरू कालीगण्डकी, त्रिशूली, बूढीगण्डकी मस्र्याङ्दी र मादी हुन्,” कास्की जिल्ला थुम्की गाउँपालिकाका मानबहादुर बोटेले बताए ।
यस वर्ष दसैं सकिएलगत्तै धादिङ जिल्ला सिद्धलेक अमनटारस्थित त्रिशूली नदी किनारमा आइपुगेका तनहुँ जिल्ला म्याग्दे गाउँपालिका, बोटटारका आसबहादुर बोटे ६० वर्षका भए । आफू यसरी नदी बगर चहारेर बालुवाबाट सुन निकाल्न थालेको ४८ वर्ष भएको उनले बताए । अहिलेसम्म सुन बेचर नुन किनेर परिवार पाल्नबाहेक केही गर्न नसकेको आसबहादुरले बताए ।
आफूहरूले निकालेको सुन बजारमा चलेको मूल्यको ७५ प्रतिशत मूल्यमा सुन पसलमा बिक्री हुँदै आएको उनले बताए । आफूहरू बाउको पछि लागेर बालुवा चालेर सुन निकाल्न जानियो । यही नै गरियो । बाउहरूले सुन खोजे, परिवार चलाउन गाह्रो भएको देखेर छोराहरू अन्य कामतिर लागेकाले अबको केही वर्षमा बालुवा चालेर सुन निकाल्ने मान्छे नहुन सक्ने आसबहादुरले बताए ।
२९ वर्ष बालुवा चालेर सुन निकालेर खारिएका काशी बोटे हिउँदमा सुन खोज्ने र बर्खामा चामल किन्ने भन्छन् । फेरि हिउँद आउँछ, बोटे बगरमा आउँछ भन्छन् । दुई जनाले मरिमेटेर काम गर्दा तीन÷चार लाल सुन पाउन पनि मुस्किल पर्छ । दिन बिताउने काम मात्र भएको उनी बताउँछन् ।
आसमाया बोटे भन्छिन्, “६ भाइ छोरा छन्, घर बनाउँदैमा जग्गा सकियो । परिवार पाल्न गाह्रो छ । बुढेसकालमा पनि बूढाको पछि लागेर बगर खोतल्न आएको छु । बगरको काम, बगरकै बसाइ छ । चिसोले जीउ करकर्ती खान्छ । उठ्यो, फेरि उही काम । यसरी नै जीविका चलेको छ ।”
बूढाको कमाइले मात्र बालबच्चा पाल्न नसक्ने भएकाले आफू सुन खोज्दै हिँडेको सोममाया बोटेले बताइन् । बूढा ट्याक्टर चलाउँछन् तर पनि खर्च पुग्दैन । यता आउन १० हजार ऋण गरेर आएकीले सयकडा ४ रुपैयाँका दरले ब्याज बुझाउनुपर्छ भन्छिन् सोममाया ।
उनीहरू प्रत्येक दिन झिसमिसेदेखि झम्के साँझसम्म बालुवा चालेर सुन खोजिरहेका भेटिन्छन् । नदीले बगाएर ल्याएको बालुवामा सुनको कण मिसिएर रहने भएकाले बोटे समुदायले बालुवामा सुन खोजेका हुन् । बालुवामा सुन खोज्ने क्रम आफ्ना पुर्खाहरूले सुरु गरेको उनीहरू बताउँछन् ।
बालुवा चालेर सुन निकाल्ने पेसा बोटेहरूको खानदानी पेसा भएको उनीहरू जिकिर गर्छन् । आफ्नो जग्गामा उब्जिएको अन्नले वर्षको ६ महिना पनि राम्रोसँग खान नपुग्ने भएपछि हरेक कात्तिक पहिलो साता सुनको खोजीमा नदी किनारमा पुग्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।
विगतका वर्षहरूमा एक दिनमै ४ लालसम्म सुन भेट्टाइन्थ्यो । अहिले त्रिशूली नदी किनारामा जथाभावी मेसिन लगाएर बालुवा र ग्राबेलहरू निकालिएका कारण पहिलेको तुलनामा सुन कम भेटिने गरेको उनीहरू बताउँछन् ।
बालुवा चालेर जम्मा पारेको सुन बिक्री गरेर आएको पैसाले दसैंको खर्च टार्ने र माघे संक्रान्ति मनाउने अनि बाँकी पैसाले घर खर्च गर्ने गरेको उनीहरू बताउँछन् । धेरै दिनको मेहनत र परिश्रमपछि सुनका कणकण जम्मा पारेर केही लाल सुन जम्मा हुने र सो बिक्रीबाट आएको रकमले परिवारको गुजारा चलाउँदै आएको बोटेहरूले बताए । आफूहरू सुन खोजेर बेचिन्छ, तर आफूले सुन लगाउन नसकेको बोटे महिलाहरूको भनाइ छ ।
बालुवा चालेर सुन खोजी गर्ने अवधिभरका लागि उनीहरूले बास बस्न नदी किनारमा प्लास्टिकको छाप्रो पनि बनाएका छन् । छाप्रामा बिहानै खाना खाएर सुन खोजीमा नदी किनारमा बालुवा चाल्नु, फेला परेको सुन लिएर पुनः राति छाप्रोमा फर्कनु उनीहरूको दैनिकी नै बनिसकेको छ ।
पछिल्लो समय उनीहरूले नदीमा जाल थापेर माछा मारी खाना खर्च पु¥याउन थालेका छन् । उनीहरू प्रतिकेजी माछा १ हजारदेखि १५ सय रुपयाँसम्ममा माछा बिक्री हुने बताउँछन् । कारोबारडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*