काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम धुम्मियो, तत्काल पानी भने नपर्ने

जनपत्र
२ मंसिर २०७८, बिहीबार ०८:०५

हिजो अस्ति बिहानै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पारिलो घाम लागेको थियो । तर, आज भने मौसम धुम्मिएको छ । अहिले उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नभएको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो।

आज काठमाण्डौको न्यूनतम तापक्रम भने बढेको छ । हिजो बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज ९ डिग्री सेल्सियस पुगेको छ । गएराति आकाश नखुलेकाले न्यूनतम तापक्रम बढेको हो ।

रातको समयमा बादल लागे न्यूनतम तापक्रम बढ्छ । न्यूनतम तापक्रम बढे पनि आज अधिकतम तापक्रम भने घट्ने मौसमविद्ले बताएका छन् । मौसमविद् बासीका अनुसार काठमाण्डौको आजको अधिकतम तापक्रम २५ देखि २६ डिग्री सेल्सियसमा झर्ने सम्भावना छ ।

आज पारिलो घाम लाग्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम घट्ने भएको हो । हिजो अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो । आज काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

प्रदेश(१ र प्रदेश(२ को भने मौसम सफा रहने मौसमविद् बासीले बताउनुभयो । उहाँकाअनुसार अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पर्सि शनिवारसम्म नै यो प्रणालीको प्रभाव नेपालमा रहने बासीले बताउनुभयो ।

यो प्रणालीको प्रभावकै कारण प्रदेश(१ र २ को मौसम भोलि भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा मौसमको अवस्था बुझेर मात्रै जान पनि पर्वतारोहीलाई मौसमविद्को सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*