अदालतमा देखिएकाे समस्या केही दिनभित्रै समाधान हुन्छ : अध्यक्ष दाहाल

जनपत्र
१ मंसिर २०७८, बुधबार १३:४४

धनुषा – सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिनभित्रै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आज बुधवार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर हिजो मङ्गलवार बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको उल्लेख गर्दै अब त्यो विषयमा बढी बोली राख्नु आवश्यक नभएको प्रतिक्रियासमेत दिनुभयो । सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिको हिजो बसेको बैठकले अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधान होस् भन्ने चाहेको बताएको थियो ।

अध्यक्ष दाहालले अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनको त्यही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो पाँच दलीय गठबन्धनको बैठक बसेको थियो । बैठकले अदालतमा देखा परेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको, त्यो समस्याको छिटो भन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसका निम्ति सबै पक्षले आ–आफनो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौँ । हामी एक–दुई दिन आशा गर्छाैँ कि समस्या अदालत भित्रबाटै समाधान होस् । त्यही हिसाबले हिजो हामीले बोलेका छौँ । त्यो विषयमा अदालत भित्रबाट सुल्झियोस् भनेर हामीले वक्तव्य दिइसकेको हुनाले अहिले त्यो विषयमा बढी बोली राख्नु परेन ।’

अध्यक्ष दाहालले आसन्न राष्ट्रिय सभा प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावमा सत्तारुढ दलहरू मिलेर जाने सहमति गरिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*