नगरपालिकाले दुई वटा एम्बुलेन्स किनिदिएपछि वडावासीमा छायो खुसी
रामेछाप – रामेछाप नगरपालिकाले वडा नम्बर एक र पाँचलाई एकएक वटा एम्बुलेन्स किनिदिएको छ । वडामा एम्बुलेन्स नहुँदा बिरामीको उपचारको लागि अस्पताल जान समस्या देखिएपछि एम्बुलेन्स किनेर दिएको हो ।
यसअघि एम्बुलेन्स नहुँदा सास्ती खेप्दै आएका रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरका नागरिकहरुले अब बिरामी पर्दा उपचारको लागि अस्पतालसम्म सहजै जान पाउने भएका छन् ।
रामेछाप नगरपालिकाले भन्सार छुटसहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैयाँमा दुईवटा एम्बुलेन्स खरिद गरि दुईवटा वडालाई मंगलबार हस्तान्तरण गरेको हो ।
एम्बुलेन्सको साँचो रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र उप–प्रमुख सृजना खड्काले सयुंक्तरुपमा वडा नं १ का वडा अध्यक्ष नरबहादुर थापामगर र वडा नं ५ का वडा अध्यक्ष भीमबहादुर तामाङ्गलाई हस्तान्तरण गरेका हुन् ।
गाउँमा गम्भीर प्रकृतिका बिरामीलाई उपचारको लागि अस्पतालसम्म लैजान यसअघि डोको, ओलिन काठको प्रयोग गरिँदै आएका थियो । गाउँमा सडक सञ्जाल पुगेपछि पनि भनेको बेला गाडी नपाइने र पाइए पनि महङ्गो भाडा तिरेर बिरामीलाई अस्पतालसम्म लैजानु पर्ने बाध्यता थियो ।