ताइवानको पक्षपोषण नगर्न चिनियाँ राष्ट्रपति सीको अमेरिकी राष्ट्रपति बाइडेनलाई चेतावनी
काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ताइवानको पक्षपोषण नगर्न चेतावनी दिनुभएको छ । दुई नेताबीच आज भएको भर्चुअल छलफलमा चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई ताइवानले खोजे जस्तो स्वतन्त्रतालाई प्रोत्साहन गर्नु आगोसँग खेले जस्तै हुने बताउनुभएको बीबीसीले जनाएको छ ।
उहाँले ताइवानको पक्षपोषण गर्नु अमेरिकाका लागि प्रत्युत्पादक हुनसक्ने बताउनुभएको छ । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेयता दुई नेताबीच भएको यो सबैभन्दा महत्त्वपूर्ण वार्ता हो । दुवै नेताले एकअर्काबीच राम्रो व्यक्तिगत सम्बन्ध राख्नुपर्नेमा जोड दिएका थिए ।
वार्ता दुई देशबीच तनाव कम गर्ने कुरामा केन्द्रित रहेको बीबीसीले जनाएको छ । यही क्रममा ताइवानको विषय पनि उठेको हो । चीनले ताइवानलाई आफ्नै भूभाग मान्ने गरेको छ र पुनः एकीकरण गर्ने बताइरहेको छ ।
ह्वाइट हाउसले भने राष्ट्रपति बाइडेनले ताइवानमा शान्ति र स्थिरतालाई कमजोर पार्ने चीनको एकपक्षीय प्रयासको कडा विरोध गरेको जनाएको छ । बाइडेनले आफूहरू दुवैले एकअर्कासँग इमान्दारीपूर्वक स्पष्ट रूपमा कुराकानी गर्ने गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सीले दुवै देशले वार्तामा सुधार ल्याउनुपर्ने र सँगै चुनौतीको सामना गर्नुपर्ने बताउनुभएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।