अर्घाखाँचीका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन
अर्घाखाँची – श्वासप्रश्वास प्रकृयामा अक्सिजनको कमीले हुने जोखिम नियन्त्रण गर्न अर्घाखाँचीका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको छ।
कोभिड तथा श्वासप्रश्वासमा अक्सिजनको कमीले हुने रोगहरुको नियन्त्रण गर्न नेपाली कांग्रेसका नेता डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो।
सन्धिखर्क नगरपालिकाको अर्घा स्वास्थ्य चौकी, मालारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकी, भूमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकी र पाणिनि गाउँपालिकाको अड्गुरी स्वास्थ्य चौकी, पाली स्वास्थ्य चौकी ,पटौटी स्वास्थ्य चौकी र मालारानी गाउँपालिका १ को मरेंग स्वास्थ्य चौकीमा एक/एक वटा कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री प्रदान गरिएकाे हाे ।
आफ्नै गाउँको स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेपछि मालारानी गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयहरु हर्षित भएका छन्। मालारानी गाउँपालिकाको १ र २ का बासिन्दाले सेवा लिने स्वास्थ्य चौकीमा अक्सिजन मेसिन लिएर डा.टण्डनको टोली गएपछि उनीहरु खुशी भएका हुन्।
अक्सिजनको अभावमा जन्मिएका शिशुहरूमा स्वास्थ्यमा जटिलता उत्पन्न भएको स्मरण गर्दै आउँदाे दिनमा कन्सन्ट्रेटर मेसिनबाट अक्सिजन दिएर पनि बालबालिका बचाउन सकिने स्वास्थ्य चौकी मदनकुमार आचार्यले बताउनु भएकाे छ । उहाँले कोभिड मात्र नभएर बालबालिका र दमका रोगीहरूका लागि पनि उपयोगी हुने बताउनु भएकाे छ ।
नेपाली कांग्रेसका वडा सभापति भरत थापाको विशेष सहजीकरणमा अक्सिजन कन्सन्ट्रेटर मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो। स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच डाक्टर टण्डनले वडा अध्यक्ष तथा स्वास्थय चौकी व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण आचार्य र स्वास्थ्य चौकी प्रमुख मदनकुमार आचार्यलाई कन्सन्ट्रेटर मेसिन प्रदान गर्नु भएकाे हाे।