हामीले बूढानीलकण्ठ नदेखेकाे झैँ गरेर सभापतिले आफ्नै घरमा बैठक बाेलाए : नेता सिंह

जनपत्र
२९ कार्तिक २०७८, सोमबार १४:००

काठमाण्डौ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी कार्यालय हुँदा हुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाण्डाैले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले बूढानीलकण्ठ नदेखेको झैँ गरेर सभापति देउवाले आफ्नै निवासमा आइतवार (हिजो) केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाउनुभयो ।

नेता सिंहले भन्नुभयो, ‘पार्टी केन्द्रीय कार्य समितिको बैठक पार्टी सभापतिको घरमा बस्छ । वर्किङ कमिटी कार्यालयमा राख्नुपर्‍याे नि भनेर हिजो मैले बोलेँ । भवनको के काम । बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या । उहाँको त्यहाँ घर बन्नुभन्दा अघि नै हामी बूढानीलकण्ठ भगवानको पूजा गर्न जान्थेउँ नि त ।’

उहाँले सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनीसमेत दिनुभयो । सभापति देउवाले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेल्धुरामा अधिवेशन गरिएको दाबी गर्दै त्यसलाई मान्न नसकिने नेता सिंहले अडान राख्नुभयो ।

उहाँले क्रियाशील सदस्यताको विवाद देखिएको ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय कार्य समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दबाब दिनुभयो ।

‘जुन जिल्ला, जुन क्षेत्र, जुन वडामा समस्या छ, त्यहाँ विधि र नियमअनुसार सम्बोधन गर्न प्रयास गरौँ । क्रियाशील सदस्यतामा विवाद भयो भने समय बित्न लागे स्थगनमा राखौँ र पुरानैबाट गरौं भनेर त सर्वसम्मतिले पारित गरेको छ नि । यहाँ त अरू पार्टीबाट प्रवेश गरेको नाममा, समायोजनको नाममा निर्वाचन अधिकृत खटिसकेको छ । भोटर लिस्टमा समायोजनको लिस्ट छ, समायोजनको लिस्टमा नभएका नामहरू राखेर पर्सादेखि विशेष गएर प्रदेश २ मा त्यस्तो भइराखेको छ’, नेता सिंहले भन्नुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*