कात्तिक नाचमा आज जल शयण देखाइँदै
ललितपुर – ललितपुरको मङ्गलबजारमा गएको २४ गतेदेखि सञ्चालन भइरहेको कात्तिक नाच अन्तर्गत आज हरिबोधनी एकादशीका दिन जलशयन नाच देखाइँदैछ ।
हरेक वर्ष हरिबोधनी एकादशीका दिन कात्तिक नाचमा भगवान नारायणसँग सम्बन्धित नाच देखाइने गरिन्छ । आज बेलुकी ७ बजेपछि कात्तिक नाचमा भगवान नारायणले मधु कैटभ दैत्यलाई बध गरेको कथावस्तु भएको जलशयन नाच देखाउने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।
नेपाल संवत ७६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको भइरहेको यो नाच यसपालि ३७६ वर्ष पुगेको छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिन्छ ।
यस नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा दायाँ आधा भागमा शिव र बायाँपट्टि विष्णुको संयुक्त मूर्ति रहेको हरिशङ्खर मन्दिर छेउमा याे नृत्य देखाइन्छ ।