आज हरि बोधनी एकादशीः मकवानपुरगढी र भीमफेदीको त्रिखण्डीमा मेला, भक्तजनको भीड

जनपत्र
२९ कार्तिक २०७८, सोमबार ०७:४४

हेटौंडा । आज कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधनी एकादशी पर्व मनाइँदैछ । एकादशीका दिन आज मकवानपुरगढी र भीमफेदीको त्रीखण्डीमा मेला लागेको छ । मेला हेर्नका लागि आज बिहानै देखि भक्तजनहरुको भीड लाग्न थालेको छ । दुबै क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दुबै स्थानमा घुम्न हेर्न र पुजा गर्न आउनेहरुको लर्को लाग्न थालेको छ ।

असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

हरि शयनीदेखि हरि बोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दु धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिने आयुर्वेदका डाक्टर वंशदीप शर्मा खरेलले बताउनु भयो ।

नगरपालिकाभित्र रहेको नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा परिचित बूढानीलकण्ठ मन्दिर र नेपालमा रहेको चार नारायणमध्येको कान्छो नारायण मन्दिरका रुपमा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले स्थानीय पर्वका रुपमा सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*