मनहरीको वनकरीया वस्तीमा निर्माण गरिएको होमस्टे उद्घाटन्
![](https://www.janapatra.com/wp-content/uploads/2021/11/IMG_5522-scaled.jpg)
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरीया वस्तीमा निर्माण गरिएको होमस्टे उद्घाटन् गरिएको छ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले होमस्टेको उद्घाटन् गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, प्रदेशसभाका सदस्यहरु सत्न चेपाङ, ओम बहादुर ग्लान, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतकाको आतिथ्यतामा होमस्टेको उद्घाटन् गरिएको हो । होमस्टे अबबाट बिधिवत रुपमा सञ्चालनमा आएको छ । व्यावसायीक रुपमा सञ्चालन गर्नेगरी होमस्टे निर्माण गरिएको हो । वनकरीया वस्तीमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भटराइ आएर बास बसेको घरलाई मनहरी गाउँपालिकाले होमस्टेका रुपमा निर्माण गरिदिएको हो ।
यहाँको वनकरीया वस्तीलाई पनि पर्यटन प्रवर्दन गर्ने उदेस्यले होमस्टे निर्माण गरिएको हो । नेपालमै लोपन्मुख वनकरीया वस्ती हेर्न र उनीहरुको रहनसहन बुझ्नका लागि आउनेलाई बस्नका लागि सहज होस भन्ने उदेस्यले होमस्टे निर्माण गरिएको हो । मनहरी गाउँपालिकाको आठ लाख रुपैयाँ लगानीमा होमस्ट्रे निर्माण गरिएको अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।
गाउँपालिकाको सहयोगमा निर्माण गरिएको होमस्ट्रेले वनकरीया वस्तीको झल्को दिने छ । एउटै भवनमा तीन वटा कोठा तयार गरिएको छ । होमस्टे निर्माणको काम सकिएको र अब तत्काल सञ्चालनमा ल्याइने स्थानीय सन्तोषी वनकरीया वताउनुहुन्छ ।
बाहिरबाट बस्नका लागि आएका पाहुनालाई बस्नेगरी सबै व्यवस्था मिलाउन लागिएको उहाँले वताउनुभयो । होमस्टे निर्माण भएर सञ्चालनमा आएपछी यस वस्तीका वनकरीयाहरुलाई आयाआर्जनका लागि थप सहयोग हुने उहाँले वताउनुभयो ।
वनकरीया वस्तीलाई बिस्तारै पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लैजाने लक्ष रहेको वताउँदै मनहरी गाउँपालिकाका अध्यक्ष उप्रेती भन्नुहुन्छ–‘वनकरीयालाई अहिले पनि खान लाउनकै समस्या छ । उनीहरुलाई सधै अरुले सहयोग गर्ने भन्दा पनि पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै लैजाने र उनीहरुलाई आत्म निर्भर वनाउने सोचका साथ यहाँ होमस्टे निर्माण गरिएको हो ।’ वनकरीया वस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूल, संगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पीठोका परिकार खुवाउने लक्षका साथ होमस्टे निर्माण गरिएको उहाँल वताउनुभयो ।
पहिले अरुको सहयोगमा मात्र बस्दै आएका वनकरीयाहरु अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै समेत लगाउन थालेका छन् । यहाँका २१ परिवारमा ९७ जना छन् । पहिले पर्यटक बस्नका लागि एउटा घर तयारी गरेको भएपनि गाउँपालिकाले आगामी वर्षमा पनि यो वस्तीका थप घरलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि सहयोग गर्ने तयारी गरेको छ । यहाँको होमस्टे सञ्चालन गर्नका लागि छुट्टै समिति बनाएर काम गर्न सुरु गरिएको छ ।
यसैबीच २३ वर्षअघिसम्म चुरेघाँचको जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपउन्मुख आदिवासी वनकरिया समुदाय कबुलियती वनमा बस्न थालेको दशक बितेको छ। पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जअन्तर्गत मनहरी–४ हाँडीखोलास्थित मुसेधापमा सरकारले २० वर्षका लागि उपलब्ध गराएको नौ हेक्टर जमिनमा उनीहरू बस्दै आएका छन्।
सरकारले पक्की घरको आश्वासन दिएको दशक बिते पनि वनकरियालाई सरकारद्वारा दिइने सुविधा उसैले बनाएको मापदण्डकै कारण उपयोग गर्नबाट वञ्चित भएका हुन्। सीमान्तकृत समुदायलाई घर बनाइदिने भनिए पनि जग्गा आफ्नो हुनुपर्ने जनता आवास कार्यक्रमका मापदण्डका कारण प्रभावित भएको हो। वनको लिजमा बसेका उनीहरूको नाममा भवन निर्माणका लागि आएको बजेट आफ्नो नाममा जग्गा नभएका कारण पटकपटक फ्रिज भएर गएको छ।
‘कान्छीमाया वनकरियाले भन्नुभयो–‘जंगलमै जीवन बित्ने भयो, पक्की घर त सरकारको आश्वासन मात्र रैछ । लालपुर्जा नहुँदा सरकारले दिएको रकम बर्सेनि फ्रिज हुँदै गएको भन्दै उनले आफूहरू बसेको जमिनको लालपुर्जा पाउनुपर्ने माग राख्नुभयो। ‘लिजको समय पनि अब आठ वर्ष मात्र बाँकी छु, कान्छीमायाले भन्नुभयो, ‘वनले यहाँबाट पनि हटाउन बेलाबखत चेतावनी दिइरहन्छ।
२०७१ साल असार दोस्रो साता सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रमअन्तर्गत बनकरिया समुदायलाई घर निर्माणका लागि प्रतिघर दुई लाख चार हजार रुपैयाँ छुट्याएको थियो । उक्त समयमा १४ घर वनकरिया परिवार रहेकोमा हाल परिवार संख्या बढेर २१ पुगेको छ । सरकारले नै दिने भनिएको सुविधा नपाउँदा वनकरिया अचम्म लागेको बताउँछन् । ‘लालपुर्जा नहुँदा ऋण गरेर केही काम गर्न पनि सकिएको छैनु, श्याम वनकरियाले भने, ‘घर बनाउन पनि लालपुर्जा चाहिने रे । सरकारले गाउँबाटै निकाल्न खोज्याजस्तो लाग्यो।
पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जले भने वनकरिया बस्तीलाई नै अन्यत्र सानुर्ने बताएको छ। निकुञ्जका वार्डेनले निकुन्जबाहिर उपयुक्त स्थान हेरेर उनीहरूलाई स्थानान्तरण गरिनुपर्ने बताउँदै आएका छन् । मकवानपुरको हाँडीखोलामा मात्र रहेको अल्पसंख्यक वनकरियाले जंगलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयको पहलमा १२ वर्षअघि हाँडीखोलाको मुसेधापँमा वन कार्यालयसँग समन्वय गरी २० वर्षका लागि लिजमा लिएर बस्ती बसाइएको थियो । तर पछि वन कार्यालयको क्षेत्राधिकारबाट मध्यवर्ती क्षेत्रमार्फत आरक्ष हुँदै निकुञ्जको स्वामित्वमा पुग्दा निकुञ्जलले बस्ती खाली गर्न पहल गरिरहेको छ।
मुसेधापमा अहिले २१ घरपरिवारमा ९७ जना वनकरिया बसोबास गर्दै आएका छन् । उनीहरूले प्रतिव्यक्ति दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । वनकरिया समुदायले घर नपाए पनि मकवानपुरमा चेपाङ समुदायका लागि भने धमाधम घर बनिरहेका छन् ।