हेटौंडाका सबै सामुदायिक बिद्यालय बन्द, बिद्यार्थी पढ्नबाट वन्चित
हेटौंडा । आज हेटौंडा उपमहानगरपालिकाको ८४ वटै सामुदायिक विद्यालय बन्द भएका छन् । श्रमिक माबीको लेखापाल बिमल श्रेष्ठ टोनीको मृत्यु भएको भन्दै हेटौंडा उपमहानगरपालिकाको ८४ वटा सामुदायिक विद्यालय आज बन्द भएका हुन् । खेलकुद तथा सामाजिक क्षेत्रमा क्रियाशिल रहेका श्रेष्ठको मृत्यु भएको शोकको घडिमा उपमहानगर भित्रको सबै सामुदायिक विद्यालय बन्द भएकोप्रति हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतले असन्तुष्टि जनाउनु भएको छ ।
मेयर महतले टोनीको मृत्यु भएको शोकको घडीमा श्रमिक मावी मात्रै बिदा भएर अरु सबै विद्यालय सञ्चालन गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै विरोध गर्नुभयो । महतले आफूले सबै सामुदायिक विद्यालयहरुलाई आगामी दिनबाट यस्तो नगर्ने भन्दै लिखित सहमती गर्न लगाउने वताउनुभयो । मेयर महतले शोकमा अरुनै तरिकाले पनि व्यक्त गर्न सकिने र उपमहानगरपालिका भरीका बिद्यार्थीलाई पढाइबाट वन्चित गरिएकोमा आपत्ति जनाउनुभयो ।
उपमहानगरपालिकाको मातहतमा बिद्यालय भएपनि थाहै नदिइकन बिद्यालय वन्द गरिएकोमा उहाँको आपत्ति छ । नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक आह्वान गर्दै आइतबार शोक सभा गरेर विद्यालय बन्द गर्न आग्रह गरेको थियो । मेयर महतले महासंघले गरेको आह्वान गलत भएको भन्दै आगामी दिनमा यस्तो आह्वान गरेर विद्यालय बन्द नगर्न आग्रह गरे ।
महासंघको अध्यक्ष दीपक अधिकारीले शिक्षकको मृत्यु हुँदा पहिलेदेखी नै यसरी विद्यालय बन्द हुँदै आएकोले सोही अनुरुप आइतबार पनि उपमहानगरको सम्पुर्ण सामुदायिक विद्यालय बन्द गरिएको बताउनुभयो । अधिकारीले आगामी दिनमा छलफल गरेर सुधार गर्दै लैजाने समेत बताउनुभयो ।