पुस २ गतेदेखि काठमाण्डौमा ढाकाको कपडा र वस्तुको प्रदर्शनी हुने
काठमाण्डाै – ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आउँदो पुसको २ गतेदेखि ढाका वस्तु प्रदर्शनी आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते काठमाण्डौ थापागाउँको बानेश्वर ब्याङ्क्वेटमा प्रदर्शनी र सम्मेलन हुने भएको हो । परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको छ ।
संघले देशको पूर्वदेखि पश्चिमसम्मका सबै ग्रामीण देखि शहरी क्षेत्रहरुमा ढाकाको घरेलु उद्योग सञ्चालन र बिक्री वितरण भइरहेको जनाएको छ । ढाकाको प्रयोगले एकातिर ग्रामीण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको र अर्कोतिर अमेरिका, जापान, जर्मनी, क्यानडा, स्विजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशहरुमा निकासी भइ वैदेशिक व्यापार घाटा न्यूनीकरणमा सहयोग पुर्याउँदै आएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।
अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी ती वस्तुकाे निकासी गर्न सकिने अवस्था रहेको संघको भनाइ छ । देशभर पाँच हजारभन्दा बढी ढाकाका उत्पादन बेच्ने व्यवसायीहरु रहेका छन् भने एक लाख भन्दा बढीलाई रोजगारी सिर्जना गरेको नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको भनाइ छ ।