राजा पलम्बर र रूक्मिणीकाे प्रेमकथा पचली भैरव नाटकमा
काठमाण्डौको टेकुमा रहेको वाग्मती र विष्णुमती नदीको संगम स्थानमा पञ्चलिङ्गेश्वरको उद्गम भएको मानिन्छ । पाँच प्रकारका उर्जा मिलेर उत्पत्ति भएको पञ्चलिङ्गेश्वर अपभ्रंश भएर काठमाण्डौको पचली भएको भनिन्छ । यहाँ अवस्थित पचली भैरवले ब्रह्मटोल, चल्खु, टेकुलगायत काठमाण्डौको दक्षिण कोलियग्रामको सुरक्षा गरिरहेको जनविश्वाश छ ।
स्थानीयले पचली आजुको नामबाट पुकार्ने पचली भैरवको जात्रा हरेक वर्षको बडा दशैंको समयमा घटस्थापनाका दिन शुरू भएर पञ्चमीसम्म सञ्चालन हुन्छ। नेपालमण्डलका जात्राहरूमध्ये दशैंको समयमा हुने पचलीभैरवको जात्रालाई महत्वपूर्ण जात्राको रूपमा लिइन्छ । जात्राको क्रममा मुख्य दिन पञ्चमीका दिन पचली भैरवसहित नैअजिमा र मुसुकाः गणेश पनि भनिने रूद्रविनायक नाय्खिं गणेशको पनि जात्रा गरिन्छ । पचली भैरवको आकृतिसहितको सुनको घ्याम्पोलाई खटमा राखेर पचलीबाट टेकु,लगन, ज्याबहाल, जोशीदेगल, चिकंमुगल, हनुमानढोकासम्म परिक्रमा गराइन्छ । जीवित देवी कुमारीसँग पनि दृष्टि जुधाइने गरिन्छ । त्यस्तै हरेक १२ वर्षमा खड्ग सिद्धि जात्रा हुन्छ । पचली भैरवको १२ वर्षे जात्राको क्रममा राजासँग पनि शक्ति पुनःस्थापनाको प्रतिकको रूपमा खड्ग साट्ने गरिन्थ्यो ।
किराँतकालका पहिलाे राजा यलम्बर थिए भने दाेस्राे राजा पलम्बर । विभिन्न किंवदन्तीका अनुसार दोस्राे राजा पलम्बर नै पचली भैरव भएकाे विश्वास गरिन्छ । तन्त्रविद्यामा एकदमै निपुण राजा पलम्बर क्षणभरमा नै एक ठाँउबाट अर्को ठाँउमा जानसक्थ्यो भनेर भनिन्छ । राजकाज पनौतीमा भए पनि कामको सिलसिलामा फर्पिङ्गसम्म ओहोरदोहोर गर्नुपर्थ्याे ।
फर्पिङ्ग जाने क्रममा राजा पलम्बर भेष बदलेर पञ्चलिंगेश्वरको उत्पत्ति स्थलका रूपमा रहेको वाग्मती र विष्णुमतीको दोभानमा साधना गर्न पुग्दथे । त्यहाँ उहाँको भेट नेवार समुदायकी सुन्दरी रूक्मिणीसँग हुन पुग्यो।