जिसस मकवानपुरको ८३औं बोर्ड बैठकः स्थानीयतह स्तरी फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय
मकवानपुर – जिल्ला समन्व समिति (जिसस) मकवानपुरको ८३औं बोर्ड बैठक शुक्रबार सम्पन्न भएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले फुटबल प्रतियोगिता सञ्चालन, विभिन्न योजनाहरुको वातावरणिय अध्यन प्रतिवेदन स्वीकृतलगायतका निर्णय गरेको छ ।
बैठकले अघिल्लो वर्ष कोरोनाका कारण सञ्चालन गर्न नसकेको जिल्लाका स्थानीय तहहरुको सहभागितामा हुने स्थानीय तह स्तरी फुटबल प्रतियोगिता सञ्चालन गर्ने र त्यसको व्यवस्थापनका लागि जिसस सदस्य देवराज रिमाल र नायब सुब्बा उपेन्द्रनाथ पोखरेललाई जिम्मेवारी दिने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिसंग छलफल गरेर प्रतियोगिता सञ्चालनको मितिलगायत अन्य व्यवस्थापनका लागि दुईजनालाई जिम्मेवारी दिईएको उहाँले जानकारी दिनुभयो । यस्तै बैठकले थाहा नगरपालिकाका विभिन्न सडक पूर्वाधार एवम् पार्क लगायत योजनाको वातावरणिय अध्यन प्रतिवेदन अनुमोदनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । जिल्ला स्तरीय पुनरावलोकन तथा सिफारीस समितिबाट सुझावसहित सिफारीस भई आएका थाहा नगरपालिकाका आठ वटा योजनाहरुको वातावरणिय अध्यन प्रतिवेदन अनुमोदनसहित स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै बैठकले जिससबाट तयार पार्न लागिएको अनुगमन पोर्टल निर्माणका लागि मंसिर मसान्त सम्मको म्याद थप गर्ने निर्णय गरेको छ । कोरोनाकै कारण कार्य सम्पन्न हुन नसकेको र पोर्टलमा केहि परिमार्जन गर्नुपर्ने भएकाले मंसिर मसान्त सम्मको म्याद थप गरिएको उहाँले बताउनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, सिता अधिकारी बुद्धिबहादुर मोक्तान, चित्रबहादुर बलामी, सरिता विक, समन्वय अधिकारी आननदराज पोखरेललगायतको उपस्थिती थियो ।