मकवानपुर रेडक्रसः सूर्यचन्द्र न्यौपानेलाई हटाएर लालबहादुर थापा सभापति
हेटौँडा । नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाको सभापतिमा लालबहादुर थापालाई चयन गरिएको छ । रेडक्रस मकवानपुरका उपसभापति समेत रहेका थापालाई सभापतिको जिम्मेवारी दिईएको हो ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितिले मकवानपुर शाखाका सभापति सूर्यचन्द्र न्यौपानेलाई बर्खास्त गर्दै उपसभापति थापालाई सभापतिको जिम्मेवारी दिएको छ । थापाको नेतृत्वमा ३ महिनाभित्र जिल्ला शाखाको अधिवेशन गर्नेगरि तदर्थ समिति निर्माण गरिएको हो ।
थापा सभापति भएसँगै दुई दशकबाट न्यौपानेको नेतृत्वमा रहेको रेडक्रसले नयाँ नेता पाएको छ । तदर्थ समितिको उपसभापतिमा खेमराज सापकोटा र सुमित्रा काफ्ले चयन भएका छन । शाखाको मन्त्रीमा पिताम्बर बास्तोला, कोषाध्यक्षमा यसोदा श्रेष्ठ, उपमन्त्रीमा सानु थापा, उपकोषाध्यक्षमा हरिकृष्ण कार्की चयन भएका छन् ।
शाखा सदस्यहरुमा कमल विष्ट, कृष्णप्रसाद चौँलागाई, मंगल रखाल, राजु घले, मोहन कार्की, प्रेम लम्साल र जंगबहादुर गुरुङ रहेका छन् ।
आफुहरुलाई तीन महिनाभित्र शाखाको अधिवेशन गरेर नयाँ समिति निर्माण गर्नको लागि केन्द्रको निर्देशन भएको नव नियुक्त सभापति थापाले बताए । केन्द्रको निर्देशन बमोजिम तीन महिनाभित्र शाखाको जिल्ला अधिवेशन हुने उनको भनाई रहेको छ । रेडक्रसको मूल्य र मान्यतामा रहेर नयाँ समितिले कार्य गर्ने समेत उनले बताए ।







