एमाले छाडेर हाम्राे पार्टीमा प्रवेश गर्नेकाे लहर नै चलिरहेकाे छ : माधव नेपाल
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको दाबी गर्नुभएको छ । आज शुक्रवार काठमाण्डाैमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा बोल्दै उहाँले उत्साहवर्द्धक ढङ्गले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको सिलसिला नै चलेको बताउनुभएको हो ।
अध्यक्ष नेपालले डडेल्धुरामा भर्खरै एमालेको सिङ्गो जिल्ला कमिटी नै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रियासमेत दिनुभयो । उहाँले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताउनुभयो । अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसका विरुद्धमा चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गर्ने सिलसिला चलेको छ, उत्साहवर्द्धक पनि छ । उदाहरणका निम्ति डडेल्धुरामा झन्डै–झन्डै जिल्ला कमिटी नै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ । यसले बेग्लै किसिमको उत्साह पैदा गरेको छ, तरङ्ग पैदा गरेको छ । तर यति हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागिपरेको छ र उसले अनावश्यक आरोप लगाइरहेको छ, झुटा प्रचार गरिरहेको छ । यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनुपर्नेछ ।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताउनुभयो । उहाँले राष्ट्रिय सभाको चुनाव र उपचुनावमा सत्तारुढ दलहरूले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताउनुभयो । सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरूले सत्तारुढ दलबीच समन्वय समिति बनाउनुपरेको पनि उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले चुनावकाे तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले तीन वटै तहको चुनाव एकै पटक गर्ने आफूहरूले सोच बनाए पनि त्यसरी गर्न कानुन, नियमले मिल्ने/नमिल्नेबारेमा छलफल गरेर अघि बढ्ने बताउनुभयो ।