संयुक्त विद्यार्थी सङ्गठनद्वारा आयल नियमको केन्द्रीय कार्यालय घेराउ
काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी सङ्गठनले टेकुमा रहेकाे नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
आज बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी सङ्गठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन्।
आम नागरिक र विद्यार्थीहरुलाई चुल्हो समेत बल्न नदिने गरी एलपी ग्याँसलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै उनीहरुले निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामाकाे माग गर्दै नाराबाजी गरेका थिए ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)मा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)मा आबद्ध अनेरास्ववियुसहितका विद्यार्थी सङ्गठनका नेताहरुले विराेध प्रदर्शन गरेका हुन् ।
पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि सरकारविरुद्धको आन्दोलन गरिरहेकाे छ ।






