स्पेनको कठिन जित, पोर्चुगल बराबरीमा रोकियो
पाब्लो सराबियाको निर्णायक गोलमा स्पेनले कतार विश्वकप तथा युरोपियन छनोट खेलमा कठिन जित हात पारेको छ ।बिहीबार राति भएको समूह ‘बी’को खेलमा स्पेनले ग्रीसलाई १(० गोल अन्तरले पराजित गरेको हो । २६औं मिनेटमा पाब्लो सराबियाले गरेको निर्णायक पेनाल्टी गोलको मद्दतले स्पेनले महत्वपूर्ण ३ अंक हासिल गरेको हो ।
समूह ‘बी’ कै अर्को खेलमा जर्जियाले स्विडेनलाई २–० गोल अन्तरले पराजित गरेको छ । जर्जियाको जितमा केचभिचा केभारात्स्केलियाले २ गोल गरे । खेलसँगै स्पेन ७ खेलमा ५ जित, १ बराबर र १ हारसहित १६ अंक बनाएर शीर्ष स्थानमा छ । १५ अंक रहेको स्वीडेन दोस्रो स्थानमा छ भने ९ अंक बनाएको ग्रीस तेस्रो स्थानमा छ । ७ अंक जोडेको जर्जिया चौथो स्थानमा रहँदा कोसोभो ४ अंकसहित पाँचौं स्थानमा छ ।
समूह ‘ए’ को खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगल आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले केही अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । खेलमा पोर्चुगलका पेपे दोहोरो पहेलो कार्ड पाउँदै ८२औं मिनेटमा मैदान बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भएको थियो ।
समूह ‘ए’ कै खेलमा लक्जेमवर्गले अजरवैजानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा छ । समान १७ अंक भएपनि गोल अन्तरका आधारमा सर्बिया दोस्रो स्थानमा छ । लक्जेमवर्ग ९ अंक जोडेर तेस्रो स्थान रहँदा आयरल्यान्ड ६ अंक जोडेर चौथो स्थानमा छ भने अजरबैजान १ अंक सहित पुछारमा छ ।