एसियन गेम्स तयारीको वातावरण मिलाइदिन मन्त्रीलाई आग्रह
काठमाण्डाै – १९ औँ एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुँदै छ । सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेका छन् । तर नेपालमा भने अझै हुन सकेको छैन । अभ्यास थालनीको वातावरण मिलाइदिन भन्दै आज बिहीवार विभिन्न सङ्घले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा आग्रह गरेका छन् ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई आज नेपाल ओलम्पिक कमिटीले सातादोबाटोमा रहेकाे कार्यालयमा स्वागत गरेको छ । कार्यक्रममा विभिन्न सङ्घका पदाधिकारी, ओलम्पिक कमिटीका पदाधिकारी पनि सहभागी थिए । सहभागीहरूले नजिकिँदै गरेको एसियन गेम्सका लागि तयारी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।
कोरोना महामारीले थिलिएको मध्येको खेलकुद क्षेत्र अझै स्वाभाविक तरिकाले अगाडि बढ्न सकेको छैन । जसले गर्दा तय भएका विभिन्न खेल तालिका पनि प्रभावित भए । विश्व महाकुम्भ मेला ओलम्पिकलाई पनि केरोनाले प्रभावित गर्याे र एक वर्ष धकिलिन पुगेको थियो । खेलाडीको तयारी पनि अन्योलमा पर्याे । अब नजिकिँदै गरेको क्यालेन्डरमा एसियन गेम्स रहेको छ । हान्जाउमा हुने खेलका लागि अन्य देशका खेलाडीले तयारी थालेका छन् । कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै दाेहाेराे मेहनत गर्नुपर्ने भएकाले तयारी चाँडाे सुरु गर्नुपर्ने दीपक विष्टले बताए ।
विभिन्न सङ्घका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सबै सङ्घका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गर्नुभयाे । मन्त्री गहतराजले १०/८ महिनाको समय तयारीका लागि पर्याप्त समय भएको भन्दै अभ्यास तत्कालै थाल्न विभिन्न सङ्घका पदाधिकारीलाई आग्रह गर्नुभएकाे हाे ।
यस्तै स्वागत कार्यक्रमकाे आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताउनुभयाे । नयाँ ऐन र परिवेशलाई समन्वय गदै बजेट विनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने उहाँले बताउनुभयाे ।
एसियन गेम्सका लागि अन्य देशले सहभागी हुन अभ्यास थाल्दा नेपालमा भने सहभागिताको बारेमा बल्ल छलफल हुँदैछ । गतिशील हुनुपर्ने खेलकुद क्षेत्र खेलको मर्मअनुसार अगाडि बढ्न नसक्दा नतिजा भगवान् भरोसामा मात्र सीमित हुने गरेको छ । पदक आशा गरिएअनुसार लगानीका लागि पनि जिम्मेवार निकायले समयमै ध्यान दिनुपर्ने हुन्छ ।