प्रधानन्यायाधीशविरुद्धकाे आन्दाेलनमा हामी मात्रै लागेर पुग्दैन : बार अध्यक्ष श्रेष्ठ

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनले गरेको आन्दोलन जारी छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसिएशनले निरन्तर आन्दोलन गरिरहेको छ । आज बिहीवार सर्वोच्च अदालत परिसरमा विरोधको कार्यक्रम गर्न पुगेको बारका पदाधिकारीलगायतका अधिवक्ताहरूलाई प्रहरीले बल प्रयोग गरी सर्वोच्च परिसरबाट बाहिर निकालेको छ । माइक राखेर कार्यक्रम गर्न खोज्दा प्रहरीले माइक हटाइ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको परिसरबाहिर निकालेको हो ।
नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा बार मात्रै लागेर नपुग्ने भन्दै आमनागरिक राजीनामा माग्दै सडकमा आउनुपर्ने बताउनुभयो । उहाँले न्यायपालिकाको सुधारमा बाधक बन्नेहरूको राजीनामापछि पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने र जफत गराउन लाग्ने बताउनुभयो । उहाँले आफूहरूलाई स्वच्छ, निर्भीक र स्वतन्त्र प्रधानन्यायाधीश चाहिएको उल्लेख गर्दै त्यस किसिमको प्रधानन्यायाधीश नल्याउञ्जेल आन्दोलन जारी रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘न्यायपालिकाको सुधारमा जो–जो बाधक हुन्छन्, उसको राजीनामा आइसकेपछि पनि उसको सम्पत्ति विवरण सार्वजनिक गराउने मात्र होइन, जफत गर्ने काममा हामी लागि पर्नेछौँ । यसका लागि सम्पूर्ण कानुन व्यवसायी, सेवाग्राही, न्यायकर्मी, कर्मचारी, नागरिक समाज सम्पूर्ण नेपाली नागरिक यसमा लाग्नुहुनेछ । बिचौलियाको नाइके हामीलाई चाहिएको छैन । हामीलाई शुद्ध न्याय दिने, निष्पक्ष न्याय दिने, स्वच्छ न्याय दिने, निर्भिक न्याय दिने, स्वतन्त्र न्यायपालिकाको प्रधानन्यायाधीश चाहिन्छ । त्यस किसिमको प्रधानन्यायाधीश जबसम्म हामीले ल्याउन सक्दैनौँ, तबसम्म यो आन्दोलनको कार्यक्रम हो । नेपाल बार मात्र होइन अब सम्पूर्ण नागरिकमा यो गइसकेको छ । नागरिकहरू पनि अब सडकमा आए हुन्छ । हिजोका दिनमा हामीले सम्हाल्न सकिन्छ कि भन्ने थियो तर अब छैन । उसले बिचौलिया, भ्रष्टाचारलाई झन् झाङ्गिन दिने भयो । त्यस कारणले उनीहरूलाई हटाउनका लागि सम्पूर्ण नागरिक समाजको सहयोगको आवश्यकता पर्दछ । बारले आफ्नै किसिमले गर्छौँ । तपाईँहरूले पनि आ–आफ्नो ठाउँबाट गर्नुहोस् । हामी बारको सहयोग हुनेछ ।’
नेपाल बार एसोसिएशनले भोलि शुक्रवार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ । अध्यक्ष श्रेष्ठले बिहान १० बजे प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि सर्वोच्च गेटमा उपस्थित हुन कानुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले न्यायाधीशहरूलाई इजलास बहिष्कार गर्न तथा प्रधानन्यायाधीशले तोकेको इजलासमा नबसेर आन्दोलनमा सघाउन पनि आग्रह गर्नुभयो ।
विरोध कार्यक्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानन्यायाधीश जबरा प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश देशद्रोही गिरोहको मान्छे भएको आरोप लगाउँदै यस्तो प्रधानन्यायाधीश नचाहिएको बताउनुभयो ।
सर्वोच्चमा भएको विरोध प्रदर्शनमा प्रधानन्यायाधीशविरुद्ध नाराबाजीसमेत भएको थियो ।