पर्यटन बोर्डले महिला श्रमिकलाई अल्पकालीन रोजगारी प्रदान गर्ने

जनपत्र
२५ कार्तिक २०७८, बिहीबार १२:३०

काठमाण्डौ – नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ ।

कोरोना महामारीको कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन भ्रममूलक रोजगारको अवसर सिर्जना गर्न लागिएको बोर्डले जनाएको छ । यसबाट उनीहरूको जीविकोपार्जनमा राहत तथा पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्नका लागि सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ ।

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा गर्न लागेको कार्यक्रम मार्फत पर्यटन महिला श्रमिकले उपत्यकाभित्रको पर्यटकीय क्षेत्रको सरसफाइ, पैदल मार्गमा रहेका पुल तथा पुलेसाको मर्मत सम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार लगायतका काम गर्नुपर्नेछ । अल्पकालीन रोजगार कार्यक्रममा भाग लिन चाहने महिला पर्यटन व्यवसायी एवं श्रमिकले निवेदन दिन सक्ने छन् ।

निवेदन दिन नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पर्यटन मजदुर खुल्ने परिचयपत्रको प्रतिलिपि र बैङ्क खाता नम्बर बोर्डको कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।

आउँदो मङ्सिर १ देखि २९ गतेसम्म प्रदान गरिने रोजगार कार्यक्रमका लागि यही कात्तिक ३० गतेसम्म दरखास्त बुझाउने समय तोकिएको छ । १०० जनालाई प्रदान गरिने रोजगार कार्यक्रमबाट श्रमिकले प्रत्येक दिन एक हजार रुपैयाँ पाउने बोर्डले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*