उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

जनपत्र
२५ कार्तिक २०७८, बिहीबार ०९:५७

काठमाण्डाै – उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ। आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो।

उदाउँदो सूर्यलाई अर्घ्य दिन काठमाण्डाैसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । उदाउँदो सूर्यको पूजा आराधना गर्न काठमाण्डाैमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत तराई मधेसका  ऐतिहासिक गङ्गा सागर, पोखरी तथा नदी तलाउमा व्रतालुहरुको घुइँचो लागेको थियो ।

दुलही झैँ सिङ्गारिएका तलाऊहरुमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

अघिल्लो वर्ष घरमै छठ मनाउन बाध्य भएका व्रतालुले यसवर्ष जलाशय, नदी खोला किनारमै पुगेर उल्लासपूर्ण रुपमा छठ मनाएका  छन् । पोहोर कोरोनाको कारण घरमै छठ मनाइएको थियो । पहिले तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*