हेटौंडामा उदाउँदै गरेको सूर्यलाई अर्घ, सकियो छठ
हेटौंडा । हेटौंडाको रापती खोलामा उदाउँदै गरेको सूर्यलाई बिहीबार बिहान अर्घ दिएपछि चारदिने महाअनुष्ठानको पर्व छठ सकिएको छ । बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् । योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ ।
हिजो आजको चिसोमा समेत हेटौंडाको रापती खोलामा उदाउँदो सूर्यलाई पुजा गर्नका लागि भक्तजनहरुको घुइचो लागेको थियो ।
प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएको हेटौंडाको रापती खोलामा ब्रतालुहरु बिहान उज्यालो नहुँदै पुगेका थिए ।
घरका पुरुष सदस्यले दौरा (पूजा सामग्री तथा प्रसादले भरिएको टोकरी) बोकेर छठघाटसम्म लगिदिन्छन् । दोस्रो दिन बेलुका एकछाक अलिनो रसिआव रोटी खाएपछि व्रतालुहरु निराहार व्रत बसेका हुन्छन् । पुरुष सदस्यले दौरा बोकेर व्रतालु महिलाप्रति सम्मान र माया प्रकट गर्ने गरेको छ ।
छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । हेटौंडाको रापतीखोला किनारमा तराइमुल र पहाडी मुलका नागरिकले छठपर्ब मर्नाका हुन् । छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । यो वर्ष कोरोना भाइरस (कोभिड—१९) संक्रमण जोखिम कम भएकोले गत वर्षको तुलनामा हेटौंडामा भक्तजन बढी भेला भएका थिए । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन रापती किनारमा गएका हुन् ।
हिजो रातभर नदी रापतीखोला किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । तर, रापती किनारमा राती बस्नेहरु अत्यन्तै थोरै मात्र रहेका थिए । आज बिहान फेरी आफ्ना सामान ल्याएर रापतीखोलामा उपस्थित भएका थिए । छठघाटबाट घर फर्किएपछि इनार, गाईलगायत चलनचल्ती अनुसार आसपासका मन्दिरहरुमा पूजा अर्चना गरिन्छ । व्रतालुले आफूभन्दा आदरणीय व्यक्तिसँग ढोगेर आशीर्वाद लिन्छन् र सानालाई आशीर्वाद दिन्छन् । त्यसपछि अदुवा, गुलियो, र तातोपानी खाएर व्रत तोडेर मात्रै भोजन गर्ने चलन छ ।
विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पारिन्छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पात सहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखुलगायतका फुलफूल पनि सूर्य भगवान र छठी चढाइने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिऽताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।