ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाकाे चुनाैती : शासन गर्ने भए चुनाव लडेर आउनुस्

जनपत्र
२४ कार्तिक २०७८, बुधबार १४:४१

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिनुभएको छ ।

आज बुधवार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न चेतावनी दिनुभएको हो । उहाँले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन । मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने, तर मलाई जेलमा थुनियो, त्यस कारण एकाएक नागरिक तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू हुनै सक्दैन । उनीहरूले आएर चुनाव लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ, यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्या आउन सक्छन्, हामीले प्रजातान्त्रिक ढङ्गबाटै समाधान गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै नागरिक भएको स्मरण गराउनुभयो । उहाँले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँदलीरहित हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई नागरिकप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको बताउनुभयो । उहाँले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढिरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण देशका हिमालमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*