सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा
काठमाण्डाै – सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ ।
कमलामाई नगरपालिकाको स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङखोला पुल, हस्पिटल रोड क्षेत्र भित्र शान्ति सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अघि बिहान ११ बजेदेखि भरे राति १२ बजेसम्म निषेधाज्ञा लागू गरेको हो ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि किसिमका सभा, समारोह तथा जुलुस नगर्न नगराउन आग्रह गरिएको छ ।
आग्रहलाई अटेर गरे कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीगढीमा रहेको खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटनको विषयमा विवाद भए पछि निषेधाज्ञा लगाइएको हो ।
बाल उद्यान पार्कको उद्घाटन र त्यहाँ वीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै गठबन्धन दलका कार्यकर्ताहरुले विरोध जनाए पछि सम्भावित घटनालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आज कमलामाई नगरपालिकाको सिन्धुलीगढीमा अङ्ग्रेज सेनाविरुद्धको लडाइँमा गोरखाली फौज विजयी भएको स्मरणमा विजयोत्सव हुँदैछ । विजयोत्सव गर्न विवाद नभएकाले सिन्धुलीगढीमा भने कुनै समस्या नहुने उहाँले बताउनुभयो ।