नेप्सेमा एकैदिन ८० अंकको गिरावट

जनपत्र
२४ कार्तिक २०७८, बुधबार ०६:२०

मंगलबार नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० ८० अंकले घटेको छ । सूचकमा भारी अंकको गिरावट आउँदा खरिदबिक्री रकम भने औसतमा रहेको छ । नेप्से सूचक ७९ दशमलव ७९ अंकले घटेर २ हजार ७४९ दशमलव ८६ बिन्दुमा अडिएको हो । यस दिन २ सय २५ कम्पनीको ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५ सय ४७ रुपैयाँ बराबरको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयरको कारोबार भएको छ ।

दसैंतिहार सकिएपछि सेयर बजारमा पहिले लगानी गरेको पैसा झिकेर आफ्नो साबिकको व्यवसायतर्फ लैजानेक्रम पनि सुरु हुनुको साथै मंगलबारको बजारमा अल्पकालीन कारोबारीले नाफा बुक गरेकाले बजार प्रभावित भएको सेयर बजारसम्बन्धी जानकार बताउँछन् । यसबीचमा सेयर खरिद गरेकाले नाफा बुक गर्न तिर लाग्दा बजार प्रभावित भएको अनुमान गरिएको छ । यस्तै, केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्ने समय पनि नजिकिएको छ । यसबाट पनि सर्वसाधारण लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा लागेको कतिपयको भनाइ छ । अहिले कम्पनीहरूले धमाधम लाभांश प्रस्ताव गरी बुक क्लोज मितिसमेत तय गरिरहेका छन् । कतिपयको साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । यस्तो बेलामा लगानीकर्ता आत्तिन नहुने विश्लेषकहरू बताउँछन् । मंगलबार तीनवटा कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएका छन् ।

यस दिन बजारका सबै उपसूचकहरू ओरालो लागेका छन् । बिमा, बैंक, लगानी, जलविद्युत् उच्च दरले झरेका छन् । सबैभन्दा बढी वित्त समूह ५ दशमलव २९ प्रतिशत, विकास बैंक ५ दशमलव २३ प्रतिशतले घटेका छन् । साहस ऊर्जा, तेह्रथुम पावर र मानुषी लघुवित्तको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ भने आईसी एफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नबिल बैंक, साहास ऊर्जा र अपी पावर कम्पनीको सेयरमा उच्च खरिद चाप देखिएको छ । नबिल बैंकको सर्वाधिक धेरै २९ करोड, साहस ऊर्जाको २५ करोड र अपी पावर कम्पनीको २२ करोड रुपैयाँभन्दा धेरैको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६ दशमलव ०६ अंकले घटेर ५१२ दशमलव ८२ को बिन्दुमा आइपुगेको छ । राजधानीडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*