तातोपानी नाकामा पूर्वाधार बनाउन के कति लगानी चाहिन्छ, योजना ल्याउनुहोस् : अर्थमन्त्री शर्मा

जनपत्र
२३ कार्तिक २०७८, मंगलवार ०९:०६

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दाेब्बर बढी राजस्व सङ्कलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।

हिजो राति चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व सङ्कलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको हो ।

पछिल्लो समय बेमौसमी वर्षाका कारण अर्बौँको क्षति भएकाले राजस्व सङ्कलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व सङ्कलन लक्ष्यअनुरूप हुने मन्त्री शर्माको भनाइ छ ।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि योजना बनाउन समेत निर्देशन दिनुभयो ।

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्त्वसाथ हेरेको र दुई पक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताउनुभयो ।

यहाँको ‘पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उहाँले भन्नुभयो, ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ’ मन्त्री शर्माले भन्नुभयो ।

कोरोना महामारीका कारण पछिल्लो समय तातोपानी नाकाबाट दैनिक झण्डै एक दर्जन मालवाहक गाडी मात्रै नेपाल भित्रिने गरेका छन् । नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायत तातोपानी नाका पुग्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*