देउसी–भैलोबाट पत्रकारका लागि जग्गा खरिद गर्न रकम संकलन
पत्रकार महासंघ हुम्ला शाखाको आयोजनामा देउसी भैलोबाट जग्गा खरिदका लागि रकम संकलन गरिएको छ। हालसम्म आफ्नो भवन नभएको भन्दै महासंघले जग्गा खरिदका लागि देउसी भैलो कार्यक्रम गरिएको जनाएको छ। महासंघ हुम्लाका अध्यक्ष राजन रावतका अनुसार यस वर्षभित्र जग्गा खरिद गर्ने उद्देश्यसाथ यसपालिको तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो।
दुई दिनसम्म खेलिएको देउसी भैलोबाट एक लाख साठी हजार रुपैयाँ संकलन भएको महासंघको हुम्ला शाखाले जनाएको छ। देउसीबाट संकलित रुपैयाँ महासंघको जग्गा खरिदमा लगानी गरिनेछ। उक्त जग्गा खरिदका लागि केही गाउँपालिकाले पनि चालु वर्षको बजेटमा समेत रकम व्यवस्था गरेका छन्।