बागमतीमा एमालेले पाण्डेको विपक्षमा मतदान गर्ने

विवेकशीलले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने
जनपत्र
२२ कार्तिक २०७८, सोमबार १६:३१

मकवानपुर — वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेलाई विश्वासको मत नदिने भएको छ । सोमबार दिउँसो बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदैछन् । एमालेको हेटौंडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेद्वारा प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

प्रदेशसभाको स्थापनादेखि सत्तापक्षको रुपमा रहेको एमाले पहिलो पटक सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिका प्रस्तुत हुँदैछ । यसबीचमा बहुमतका आधारमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेका थिए । एमालेसँग हाल सभामुखसहित सदनमा ४३ मत रहेको छ ।

‘प्रदेशसभामा हाम्रो भूमिका फेरिएको छ । हामी पहिलो पटक प्रतिपक्षीको रुपमा प्रस्तुत भएका छौं । अब हामी सशक्तरुपमा प्रस्तुत हुनुपर्छ,’ संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बैठकमा भनिन्, ‘हामी कमजोर भएको खण्डमा सरकार गलत बाटोमा जान्छ । त्यसकारण योजना बनाएर अगाडि बढ्न जरुरी रहेको छ ।’

यसैगरी वाग्मती प्रदेशसभाको चौथो ठूलो दल विवेकशील साझा पार्टीले मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेलाई विश्वासको मत नदिने भएको छ । पार्टीको आइतबार बसेको संसदीय दलको वैठकले मुख्यमन्त्री पाण्डेद्वारा प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले सोमबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको वैठकमा विश्वासको मत लिँदैछन् । ‘प्रदेश सरकारले साबिक मन्त्रालयहरू फुटाइ जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेको सन्दर्भमा हाम्रो पार्टीको बैठकले मन्त्रालय फुटाउने कार्यको औचित्य पुष्टि हुन नसक्ने ठहर गरेको छ । भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनिक संरचना नै अस्तव्यस्त हुने र प्रदेश कोषमा अनावश्यक रूपमा व्ययभार थपिन जाने हुँदा हामीले विपक्षमा मतदान गर्ने र सरकारलाई समेत खबरदारी गर्ने निर्णय गरेका छौं,ु पौड्यालले भने ।

उनले प्रदेशसभामा सुरुवाती दिनदेखि खेल्दै आएको रचनात्मक प्रतिपक्षको भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी रूपमा निरन्तरता दिने निर्णय गरेको बताए । वाग्मती प्रदेशसभामा विवेकशीलका ३ सांसद छन् । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*