वीरगञ्‍जमा तातो अलकत्राले पोलेर २ जना घाइते

जनपत्र
२२ कार्तिक २०७८, सोमबार १४:३४

वीरगञ्ज। वीरगञ्जमा तातो अलकत्राले पोलेर दुई जना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३८ वर्षीय महम्मद रेयाज मिया र ३९ वर्षीय सैमुल्लाह मिया मन्सुरी घाइते भएका हुन् । घाइतेमध्ये दुबै पैताला र हातमा अलकत्राले पोलेको सैमुल्लाहको नारायणी अस्पतालमा भइरहेको छ ।

रेयाज भने आइतबार राति नै डिस्चार्ज भएका छन् । उनको पनि पैताला र पाखुरामा अलकत्राले पोलेको छ ।

भर्खर कालोपत्रे गरेको सडकबाट हिँड्दै गर्दा उनीहरु लडेर अलकत्राले पोलेको हो वा अरुले छ्यापेको हो भन्ने प्रहरीले पुष्टि गर्न सकेको छैन । यद्यपि भर्खरै कालोपत्रे भएको सडकमा उनीहरु हिँडेका बेला ठेकदारका प्रतिनिधिहरुसँग विवाद भएको भने प्रहरीले पुष्टि गरेको छ ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भर्खरै कालोपत्रे गरेको सडकमा मोटरसाइकलबाट लडेर उनीहरु घाइते भएको जानकारी आफूले पाएको बताए ।

‘भर्खरै कालोपत्रे गरेको सडकमा मादक पदार्थ सेवन गरेका दुईजना लडेर घाइते भएको भन्ने जानकारी आएको थियो, अहिले तातो अलकत्रा खन्याइदिएको भन्ने कुरा पनि सुन्दैछु’ उनले भने ‘ लिखित उजुरी आएको छैन ।’

ठेकेदारले अलकत्रा छ्यापेको घाइतेको आरोप

घाइतेहरुले भने ठेकेदार पक्षले तातो अलकत्रा छ्यापेको आरोप लगाएका छन् । घाइते रेयाज मियाका अनुसार आइतबार राति सवा १० बजे घरतर्फ गइरहेका बेला ठेकदारका सहयोगीहरुले जान दिन्नौं भनेर अलकत्रा छ्यापेका हुन् ।

ठेकदार आशुतोष चतुर्वेदीले भर्खरै कालोपत्रे गरेको सडकमा जान रोकेको र आफूहरु जान लागेपछि तातो अलकत्रा जिउमा हालिदिएको उनले बताए ।

‘ठेकेदारसँग कुराकानी भइरहेको थियो, कामदारहरु पनि विवाद गर्न आए । ऊ (ठेकेदार) साथी हो भन्दा के को साथी ? भनेर झनै विवाद गरे’, रेयाजले भने, ‘ठेकेदार चतुर्वेदीले नै कालोपत्रे हाम्रो शरीरमा खन्याइदिएको हो, टोलको मान्छेले पनि हेरेका छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*