बागमती प्रदेशमा काग्रेशको सभापतिका लागि मकवानपुरका बानियाँसहित पाँच जना आकांक्षी
हेटौंडा । कांग्रेसको मंसिर १६–१७ मा हुने प्रदेश अधिवेशनमा आफूपक्षीयलाई जिताउन शीर्ष नेताहरू सक्रिय हुन थालेका छन् । प्रदेश अधिवेशनको नतिजाबाट त्यसको एक सातापछि हुने केन्द्रीय महाधिवेशनको परिणाम आकलन गर्न सकिने भएकाले उनीहरूको सक्रियता बढेको हो । पार्टीको विधानले प्रदेश कार्यसमितिलाई बलियो हैसियत दिएका कारण आकांक्षी पनि धेरै देखिएका छन् ।
वाग्मती प्रदेशमा देउवा समूहबाट प्रदेशसभा संसदीय दलका नेता मकवानपुरका जिल्ला सभापति इन्द्र बानियाँ आकांक्षी छन् । पौडेल समूहबाट काभ्रेका पूर्वजिल्ला सभापति मधु आचार्य, धादिङका पूर्वसभापति रामनाथ अधिकारी र नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसी चर्चामा छन् ।
सिटौला समूहबाट भीमसेनदास प्रधान आकांक्षी छन् । उक्त समूहका नेता हरिहर अधिकारीले देउवा–सिटौला समूहबीच काठमाडौं जिल्लामा देउवा समूहलाई र प्रदेशमा सिटौला समूहलाई सहयोग गर्न प्रयास भइरहेको बताए । अधिक मतभार रहेको काठमाडौंमा पकड जमाएका नेता प्रकाशमान सिंहको प्रभाव पनि वाग्मतीको उम्मेदवारीमा पर्ने देखिएको छ ।