प्रधानन्यायाधीश जबराले आफ्नो लागि इजलास तोकेपछि अरु न्यायाधीश असन्तुष्ट
काठमाण्डाै – सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसाेसिएशनको आग्रह विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आफ्नो लागि इजलास तोक्नुभएको छ ।
तिहार बिदापछि अदालत खुलेको पहिलो दिन उहाँले आफूसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोक्नुभएको हो ।
बन्दी प्रत्यक्षीकरणको मुद्दाको लागि उहाँले आफू र अरु न्यायाधीशका लागि इजलास तोक्नुभएको छ । तर न्यायाधीशहरुले जबरा इजलासमा बस्न नहुने र आफूहरुले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने सर्त राखेका थिए ।
प्रधानन्यायाधीश जबरा इजलासमा बसे आफूहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा समेत नहेर्ने न्यायाधीशहरुको अडान छ । तिहारअघि अघिल्लो हप्ता सोमवार प्रधानन्यायाधीश जबराले आफूलाई इजलास नतोकी अरु न्यायाधीशहरुका लागि बन्दी प्रत्यक्षीकरणको निवेदनको मात्र पेसी तोक्नुभएको हो ।
भोलिपल्ट मङ्गलवार उहाँले बन्दी प्रत्यक्षीकरण बाहेक बैंकिङ्ग कसुरका निवेदन समेत पेसीमा राखेपछि अरु न्यायाधीशहरु इजलासमा गएका थिएनन् । तिहार बिदा सुरु हुनु अघिल्लो दिन बुधवार भने प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणका निवेदनको मात्रै पेसी तोक्नुभएको थियो ।
आज फेरि उहाँले आफूलाई समेत इजलास तोकेपछि अरु न्यायाधीश इजलासमा बस्ने सम्भावना कम छ । यस्तै प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले दोस्रो चरणको आन्दोलनको तयारी थालेको छ ।
केही वकिलहरुले भने न्यायालयलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै हड्तालमा रहेका न्यायाधीशहरूलाई इजलास फर्कन दबाबमूलक कार्यक्रम गरिरहेका छन्।