तिहार सकियो, छठको रौनक शुरु

जनपत्र
२२ कार्तिक २०७८, सोमबार ०७:५६

श्रद्धा, निष्ठा र लोकआस्थाको रुपमा परिचित छठ पर्व आजदेखि विधिवत रुपमा शुरु भएको छ । सूर्य र उनकी देवी उषालाई छठी मैयाँको रुपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ भएको बताइन्छ ।

तिहार सकिएसँगै तराई र भित्रीमधेशका वासिन्दाहरु छठको तयारीमा व्यस्त हुन थालेका छन् । पाँच दिनसम्म निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज ब्रतालुले माछा र कोदो खाँदैनन् । आजको दिनलाई माछामरुवा बार्ने दिन भनिन्छ ।

पर्वको दोस्रो दिन खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको सेतो घोलले भुईं सजाएर ब्रतालुहरु दिनभरि व्रत बस्छन् । राति चन्द्रोदयपछि चन्द्रमालाई खीर अर्पण गरेर मात्र उक्त खीलाई प्रसादको रुपमा ग्रहण गर्छन् ।

तेस्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटेर विभिन्न खालका गुलिया परिकार बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्तीलाई ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यले लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुप्याउँछन् ।

सूर्यलाई अर्घ दिने ब्रतालुले भने ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्छन् । परिवारको सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वलाई निष्ठा र कठोर पर्वका रूपमा समेत लिइन्छ ।

छठलाई तराइको मिथिला क्षेत्रमा लोकआस्थाको महापर्व मानिन्छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा छठको तयारी शुरु भएको छ ।

जनकपुरका पोखरीहरुलाई सजाउने कार्य शुरु भएको छ । त्यहाँका रामायणकालीन पोखरीहरु धनुषसागर, गंगासागर, अंगराज सरोवरलगायतका पोखरीहरुमा भव्य रुपमा छठ पर्व मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*