विश्वकपबाट भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा
भारतको झिनो आशा समाप्त पार्दै न्यूजिल्याण्ड जारी आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। सुपर १२ को आफ्नो अन्तिम खेलमा आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्ड सेमिफाइनल पुगेको हो।
समूह २ मा न्यूजिल्याण्ड ५ खेलबाट ८ अंक जोडेर समूहको उपविजेता बन्ने पक्का भएको छ। चार खेलबाट ८ अंक भएको पाकिस्तान यसअघि नै अन्तिम चारमा पुग्ने निश्चित भएको थियो। चार खेलबाट चार अंक भएको भारतले अब अन्तिम खेलमा नामिबियालाई हराएपनि अगाडि बढ्ने छैन।
न्यूजिल्यान्डविरुद्ध पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २४ रन जोडेको थियो। न्यूजिल्याण्डले १८ ओभर एक बलमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । समूह १ बाट इंग्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा पुगेका छन्।