लिङ्देन अघि सर्दा थापा, राणा र लोहनीलाई चुनौती

जनपत्र
२२ कार्तिक २०७८, सोमबार ०७:३७

तत्कालीन राप्रपाले राजतन्त्रवादी धार छाड्दा त्यसप्रति असन्तुष्टि जनाउँदै कमल थापाले नयाँ दल राप्रपा नेपाल गठन गर्दा उनलाई साथ दिने एक जना नेता थिए, राजेन्द्र लिङ्देन । २०६४ पछि निरन्तर रुपमा थापाकै कित्तामा बसेका लिङ्देनले २०७४ सालको प्रतिनिधिसभामा झापाबाट चुनाव जित्दै संसद्‌मा राप्रपाको बीउ जोगाइदिएका थिए । यसबीचमा पटक पटक विभाजन र एकता गर्दै अहिले एकता महाधिवेशन संघारमा पुग्दै गर्दा लिङ्देन थापाका लागि चुनौती बनेर खडा भएका छन् ।

नयाँ नेतृत्वका युवा पुस्ताको नारा अघि सार्दै लिङ्देनले अध्यक्षमा उम्मेदवार दिने तयारी सुरु गरेसँगै मंसिरको दोस्रो साता हुने महाधिवेशनमा नेतृत्वका आकाक्षी थापा र अर्का अध्यक्ष पशुपतिशमशेर राणा दुवैका लागि चुनौती बन्ने देखिन्छ । त्यसैगरी राप्रपाका अर्को अध्यक्ष प्रकाशचन्द्र लोहनीले आफूपनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन् । थापा र राणाको तुलनामा पार्टी संगठनमा लोहनीको पकड भने कमजोर छ ।

२०७६ फागुनमा एकता भएपछि राप्रपाको पहिलो पटक मंसिर ११ देखि १३ गतेसम्म हुन लागेको महाधिवेशनमा थापा र राणासँगै लिङ्देन अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन् । थापालाई लामो समयदेखि साथ दिँदै आएका नेता धवलशम्शेर राणाले लिङ्देनलाई साथ दिने सहमति जनाइसकेका छन् । लामो समयदेखि थापालाई साथ दिँदै आएका राणा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर हुन् । लिङ्देन र थापाबीच दसैअघि नै यस विषयमा सहमति भइसकेको छ ।

लिङ्देनले पार्टी बचाउनका लागि हस्तक्षेपकारी भूमिका खेल्ने महाधिवेशनमा मुद्दा बनाउन खोजेका छन् । लिङ्देनले राप्रपाको कार्यशैली र नेतृत्व परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको इकान्तिपुरलाई बताए । ुराष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रतिस्पर्धी पार्टी बनाउने हो भने कार्यशैली र रणानीति परिवर्तन गरेर नेतृत्वमा समेत परिवर्तन गरेर जानुपर्छु लिङ्देनले भने, ‘नेतृत्वको पुस्तान्तरणको विषय तीनवटै अध्यक्षको अगुवाइमा यो काम होस भन्ने विषयमा प्रयासरत छौं । उहाँहरुले नै निकास निकाल्नु हुन्छ भन्ने आशामा छौं नभए हामी प्रतिस्पर्धामा गएर भएपनि नेतृत्व परिवर्तन गर्ने पक्षमा छौं ।’

थापालाई लामो समयदेखि साथ दिएका लिङ्देनको गत आमनिर्वाचनपछि देखिनै फाटो आएको थियो । लिङ्देन निकट नेताहरुले थापाले थ्रेट महसुश गरेर तल्लो तहमा जनमत भएका नेताहरु लिङदेन र धवललाई किनारा पार्न थालेपछि अहिले दुवै एकै स्थानमा उभिन पुगेको बताउँछन् । उनले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरोधमा ठूलो जनमत भएपनि थापाले त्यसलाई संगठित गर्न नसकेको विषयलाई अघि बढाउने तयारीमा छन् । थापाको नेतृत्व पार्टी बाहिरका शक्तिका लागि विश्वसनीय हुन नसकेको ठहर गरेका छन् ।

ुधर्मनिरपेक्षता, गणतन्त्र र संघीयता विरोधी पार्टी बाहिर ठूलो जनमत भएपनि त्यसलाई मतमा परिणत गर्न थापाले सक्नु भएन । बाहिरका संघसंस्थाहरुले समेत विश्वास गर्नसकेनन् त्यसैले त्यसमा परिवर्तन आवश्यक छ ‘ लिङ्देनको पक्षमा रहेका एक केन्द्रीय सदस्यले भने, ु२०७० साल दोस्रो संविधानसभा जति जनमत प्राप्त भएको थियो । त्यसलाई पनि जोगाएर राख्न सक्नु भएन ।’

तर थापा निकट रहेका लिङ्देन प्रतिस्पर्धा आएपनि उनको राष्ट्रिय व्यक्तित्व बनिनसकेको कारण महाधिवेशनका प्रतिनिधिहरुले थापालाई छाड्न नसक्ने बुझाइ छ ।

थापा पक्षका नेताहरुको भने पूर्व राजाको सचिवालयका सदस्यहरु नै थापाविरुद्ध लागेको बुझाइ छ । राप्रपाका आर्थिक विभागका प्रमुख उद्घव पौडेलले सक्रिय राजतन्त्रको पक्षमा वकालत गर्नेहरु लिङ्देनलाई उम्मेदवार बनाउने पक्षमा रहेको बताएका छन् ।

ुसक्रिय राजतन्त्रको पक्षमा रहेको शक्तिले लिङ्देनलाई अघि बढाउन खोजका छन् । सक्रिय राजतन्त्र नभइ सबैको संरक्षकको रुपमा रहने गरी संवैधानिक राजतन्त्र हुनपर्छ भन्ने थापाको विचार होु पौडेलले इकान्तिपुरसँग भने, ु पार्टीलाई अघि बढाउनका लागि थापा जतिको क्षमतावान नेता राप्रपाभित्र छैन । अहिलको राप्रपाले बोकेको विचार नै थापाले प्रतिपादन गर्नुभएको हो । हिन्दु धर्म, एकतात्मक राज्य र संवैधानिक राजतन्त्र नै राप्रपाको विचार हो । थापा जतिको स्पष्ट दृष्टिकोण कसैको पनि छैन ।ु

पौडेलकाअनुसार नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल बाहेकको कल्पना हुन नसकेको जस्तै थापा बिनाको राप्रपाको कल्पना हुन सक्दैन । उनले अध्यक्ष थापालाई बदनाम गर्नका लागि राजा निकटका कतिपय शक्तिहरुलाई लागेर आरोप लगाइरहेको बताए ।

लिङ्देनले महाधिवेशनको पशुपतिशम्शेरको बढ्दो उमेर, लोहनीसँग संगठनभित्र रहेको कमजोर पकड र थापासँग विश्वसनीयता कमी आएको विषयलाई मुद्दा बनाउने तयारी गरेको छ । तर थापाले भने राप्रपाभित्र धेरै पुरानो नेताहरु भएको कारण लिङ्देनलाई बाह्य शक्तिले सहयोगमा मात्रै नेतृत्वमा पुग्न नसक्ने बताउँछन् ।

उमेरले आठ दशक पुग्न लागेका राणा भने पूर्व राप्रपाभित्र देखिएको विभाजनबाट फाइदा लिएर अध्यक्ष बन्ने कोसिसमा छन् ।

राष्ट्रिय महाधिवेशनअघि राप्रपाका जिल्ला अधिवेशनहरु धमाधम भैरहेका छन् । आगामी कात्तिक २७ गते राप्रपाले सात वटै प्रदेशमा एकैपटक अधिवेशन गरेर नयाँ नेतृत्व छान्ने तयारी गरेको छ । मंसिर १ देखि ३ गतेसम्म महाधिवेशन प्रतिनिधिहरुको छनोट छ ।

राप्रपा महाधिवेशनमा लागि प्रत्येक प्रदेशसभाबाट निर्वाचन क्षेत्रबाट ३ खुला, ३ महिला, १ दलित र २ जनजाति प्रतिनिधि समेत नौ जना प्रतिनिधित्व हुने छ । जसको संख्या २ हजार ९ सय ७९ जना हुने छ । त्यसैगरी प्रत्येक पालिकाका सभापति ७ सय ५३, प्रदेशसभाका सभापति ३ सय ३०, प्रतिनिधससभा क्षेत्रका सभापति १ सय ६५, जिल्ला सभापति ७७, प्रदेश सभापति ७ जना सहभागी हुनेछन् । त्यसैगरी केन्द्रीय सदस्य र मनोनित गरि करिब ५ हजार जनाको प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व छनोट गर्ने तयारी छ । इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*