कालीकाेट : ‘सुत्केरीलाई सेवा नदिने थिर्पु स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीकाे तलब काटिने’

जनपत्र
२१ कार्तिक २०७८, आईतवार १७:३३

कालीकाेट – कालीकोटको पलाँता गाउँपालिका ८ थिर्पुमा रहेकाे स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन् ।

स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले गएकाे शुक्रवार स्वास्थ्य चौकीमा सुत्केरी हुन आउँदा स्वास्थ्यकर्मी नभेटिएपछि उहाँ चौकीकै प्राङ्गणमा सुत्केरी हुनुभयो । उहाँले छोरीलाई जन्म दिनुभएको हो ।

सुत्केरीले उपचार नपाएपछि स्वास्थ चौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताउनुभयो । स्वास्थ्य चौकीमा तीन अनमी, एक स्वास्थ्य सहायक, दुई अहेब, तीन कार्यालय सहयोगी, एक चौकीदार र एक बगैँचा व्यवस्थापन गर्ने गरी ११ जना कार्यरत छन् । सबै कर्मचारी तिहार बिदामा घर गएकाले स्वास्थ्य चौकीमा कोही नभएको अध्यक्ष बमले बताउनुभयो ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापर्बाही गर्ने कर्मचारीलाई हामीले कसरी राज्यको तलब दिएर राख्न सक्छौँ’, उहाँले भन्नुभयो, ‘चाडबाडका बेला एक जना पनि कर्मचारी स्वास्थ्य चौकीमा नहुनु विडम्बना हो ।’

गाउँपालिका अध्यक्ष बमका अनुसार स्वास्थ्य चौकीका दुई कर्मचारीले अवकाश पाएको र सात कर्मचारीको कात्तिक महिनाको तलब कट्टा गरेर स्वास्थ्य चौकीको सुत्केरी कक्षको व्यवस्थापन गरिने बताउनुभयो ।

तिहारको बेला ढोका बन्द गरेर बसेका स्वास्थकर्मीले सामान्य बिरामीको उपचारसमेत नपाएको गुनासो भए पनि गाउँपालिकाले बाध्य भएर त्यही आधारमा कारबाही गर्ने अध्यक्ष बमले जानकारी दिनुभयो ।

‘तीन महिनासम्म अनुपस्थित सबैको प्रोत्साहान भत्ताबापत पाउने मासिक सात हजार र दुई दिनअघि धौलागोह र दैनिकरको स्वास्थ्य संस्था अनुगमन गर्दा धौलागोहमा दुई अनमी र दैनिकरमा एक अनमीको पनि तलब काट्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘गाउँपालिकाभित्र ७२ शिक्षक, ३१ स्वास्थ्यकर्मी, चार प्राविधिक र २७ प्रशासनतर्फका कर्मचारीले कात्तिक महिनाको आधा वा आंशिक र केही कर्मचारीको पूरै महिनाको तलब कटौती हुनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*