हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव
हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा रहेको लाली स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ।
सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन् । त्यहाँका धेरैजसो बालबालिका र ज्येष्ठ नागरिकलाई ज्वरो आएको छ । तर, स्वास्थ्य संस्थामा अभाव हुँदा बिरामीले औषधि पाएका छैनन् । स्वास्थ्य चौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेकाे त्यहाँका स्थानीय विर्जन शाहीले बताउनुभयो ।
दैनिक स्वास्थ्य चौकीमा १५ देखि २० जनासम्म बिरामी उपचारका लागि जाने गरेका छन् । मौसम परिवर्तन भएसँगै हुम्लाको खार्पुनाथमा भाइरल ज्वरोका बिरामी बढेका छन् ।







